उपाध्यक्ष सापकोटाविरुद्ध सर्वोच्चको आदेशमा माओवादीले पूर्णपाठ पर्खने

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

The Maoists will wait for the full text of the Supreme Court's order against Vice President Sapkota

काठमाडौँ — माओवादीले पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाविरुद्ध अपहरण तथा ज्यान कसुरमा अनुसन्धान गर्नुपर्ने सर्वोच्च अदालतको आदेशमा पूर्णपाठ आएपछि मात्र प्रतिक्रिया दिने जनाएको छ । बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा सर्वोच्चको आदेशबारे विश्लेषण भएको थियो ।

माओवादी महासचिव देव गुरुङले द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायसँग सम्बन्धित भएको भन्दै सापकोटाको सम्बन्धमा सर्वोच्चको पूर्णपाठ आएपछि मात्र टिप्पणी गर्नु उचित हुने बताए । ‘द्वन्द्वकालीन मुद्दाहरु संक्रमणकालीन न्याय सम्बन्धित हुन्छन् । अग्निजीको मुद्दाका विषयमा अनुसन्धान गर्ने भनिएको छ । त्यो भनेको टीआरसी क्षेत्रात्रिकार हो कि नियमित अदालती प्रक्रिया हो भन्ने कुरा पूर्णपाठ आएपछि स्पष्ट होला,’ उनले भने, ‘न्यायलयले द्वन्द्वकालीन मुद्दा संविधान, विस्तृत शान्ति सम्झौता र संक्रमणकाली न्यायका आधारमा निर्णय गर्नुपर्ने हो ।’

सर्वोच्चले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अपहरण तथा ज्यान कसुरमा अनुसन्धान गर्न सरकारलाई बुधबार आदेश दिएको थियो । सापकोटाविरुद्ध २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले सापकोटाविरुद्ध विभिन्न मितिमा परेका ३ रिटमाथि अन्तिम सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न भनेको छ ।

कान्तिपुर

Link copied successfully