गृहमन्त्रीको राजीनामामा प्रतिपक्ष लचक, छानबिन समितिमा अडान

अवरोधबीच संसद् चलाउन सत्तापक्षले सभामुखलाई आग्रह गर्ने, जबर्जस्ती संसद् चलाए प्रतिवाद गर्ने विपक्षीको भनाइ 

जेष्ठ २२, २०८२

गंगा बीसी

Opposition flexible on Home Minister's resignation, stance on inquiry committee

काठमाडौँ — भिजिट भिसाको आवरणमा मानव तस्करी गरिएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तापक्ष सहमत नहुँदा बुधबार पनि प्रतिनिधिसभा बैठक सञ्चालन हुन सकेन । संसद् बैठक लगातार अवरुद्ध हुँदा १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुन सकेको छैन । 

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पहिलेको मागमा लचिलो बनेका विपक्षी दलहरूले संसदीय छानबिन नगरिए संसद् बैठक चल्न नदिने अडान राख्दै आएका छन् ।

सत्तारूढ दलहरूले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान भइरहेकाले संसदीय छानबिनको औचित्य नरहेको तर्क गरिरहेका छन् । उनीहरूले सभामुख देवराज घिमिरेलाई संसद् चलाउन आग्रह गर्ने भएका छन् । जबर्जस्ती संसद् चलाए प्रतिवाद गर्ने विपक्षी दलहरूको भनाइ छ । 

एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षी दलहरू जिम्मेवार भएर संसद्को अवरोध हटाउनुपर्ने बताए । ‘संसद् अवरुद्ध हुँदा बिजिनेस ठप्प छ । बजेटमाथि छलफल, कर्मचारीलगायत विधेयक अघि बढाउनुपर्ने छ,’ उनले भने, ‘विपक्षीको अवरोधलाई धैर्यपूर्वक हेरिरहेका छौं । अब धेरै दिन पर्खने अवस्था छैन । अब संसद् खोल्ने जिम्मेवारी विपक्षीको हो ।’

अख्तियारले हेरिरहेको विषयमा अर्को छानबिन समिति आवश्यक नै नरहेको उनको भनाइ छ । ‘भिजिट भिसा प्रकरणको छानबिन अघि बढाउने काम अख्तियारले गर्छ । हामीले राज्यको भरपर्दो अंगलाई विश्वास गर्नुपर्छ । विपक्षीले यसमा अर्को समिति गठनको माग गर्नु अपरिपक्व र गैरजिम्मेवार छ ।’ 

Opposition flexible on Home Minister's resignation, stance on inquiry committee

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणको बहानामा संसद् अवरुद्ध गरेर विपक्षी दल गैरजिम्मेवार बनेको आरोप लगाए । ‘जनताप्रति जवाफदेही हुन पनि विपक्षीले संसद् खोल्नुपर्छ,’ उनले भने । माओवादीलगायत विपक्षीको मागलाई सम्बोधन गर्न नसकिने उनको भनाइ छ ।

‘भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । स्वतन्त्र रूपमा अख्तियारले छानबिन गरिरहेको बेला अर्को संसदीय समिति किन आवश्यक पर्‍यो ?’ उनले भने । सरकारी निकायमा कुनै कर्मचारीले गरेको अनियमितताका कारण मन्त्रीको राजीनामा माग हुने हो भने कुनै पनि मन्त्रीले काम गर्न नसक्ने घिमिरेको भनाइ छ । 

माओवादीले संसदीय दलले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाए गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने जनाउँदै आएको छ । सभामुख घिमिरेले बुधबार बोलाएको बैठकमा कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियारले आयोगले अनुसन्धान अघि बढाएकाले गृहमन्त्रीको राजीनामा र छानबिन समिति आवश्यक नभएको अडान राखेको थियो ।

कांग्रेसको यो अडान आएपछि माओवादीले छानबिन समिति बनाउनसमेत तयार नहुने हो भने संसद् अवरुद्ध जारी अडान दोहोर्‍याएको थियो । सहमति हुन नसकेपछि बुधबारको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो ।

प्रमुख प्रतिपक्ष माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा दिने विषयमा आफूहरू लचिलो भए पनि सत्तापक्ष छानबिन समिति बनाउन तयार नहुनु गम्भीर विषय रहेको बताएका छन् । उनले निकटस्थ नेताहरूसँग खुमलटारमा छलफल गर्दै संसद् खुलाउने विषयमा सत्तापक्ष नै जिम्मेवार हुनुपर्ने उल्लेख गरेका थिए । ‘कम्तीमा छानबिन समिति नबनेसम्म संसद्मा अवरोध जारी रहन्छ,’ दाहालको भनाइ थियो । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गरी सत्यतथ्य ल्याउन जरुरी रहेको बताए । ‘छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएपछि संसद् खोल्ने विषयमा सहमत हुन सकिँदैन,’ उनले भने । सयौं व्यक्ति पीडित भएको, लाखौं रकम असुल्न ‘सेटिङ’ गरिएको भिजिट भिसा प्रकरणलाई विपक्षीले नछाड्ने पाण्डेको भनाइ छ । 

माओवादी सांसद रेखा शर्माले बीचको बाटो (छानबिन समिति) बनाउनसमेत तयार नभई जबर्जस्ती संसद् चलाउन सत्तापक्ष लागेको टिप्पणी गरिन् । ‘भिजिट भिसाका नाममा विगतदेखि हालसम्म भएको अनियमिततामा संसदीय छानबिन गरौं भनेका हौं । सत्तापक्षले जानीजानी संसद्मा द्वन्द्व निम्त्याउन खोजिरहेको छ,’ उनले भनिन् ।

सत्तापक्षको आग्रहमा विपक्षीको विरोधबीच संसद् चलाउन खोजे प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने शर्माको भनाइ छ । ‘विपक्षीले संसद् खोल्ने गरी लचिलो प्रस्ताव अघि सारेको छ । बल प्रयोग गरेर संसद् चलाउनु दुःखद् हुन्छ,’ उनले भनिन् ।

गंगा

Link copied successfully