मन्त्रिपरिषद्का निर्णयमा मुद्दा चलाउने हो भने कुनै पनि प्रधानमन्त्री बच्दैनन् : पाण्डे

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

No prime minister will be spared if the decision of the Council of Ministers is to be prosecuted: Pandey

काठमाडौँ — नेकपा एसका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साधेको बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि मुद्दा चलाउँदै जाने हो भने विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने पाण्डेले चेतावनी दिएका छन् ।  

पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा पाण्डेले मन्त्रिपरिषद्का सबै निर्णय भ्रष्टाचारजन्य मुद्दा बन्न सक्ने बताए ।  'विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरू सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्। त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरु बच्नेवाला छैनन्। र अर्को कुरा कनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब कुनै ठूलो महत्वपूर्ण निर्णय गर्दैन,' उनले भने । 

सरकारले गणतन्त्रको विरोधमा सडकमा उत्रिरहेकाहरुलाई मद्दत पुग्ने गरी काम गरिरहेको उनको जिकिर छ। भ्रष्टाचारमा ठूला माछा समात्न सुरु भएको हो भन्ने प्रश्नमा पाण्डेले भने, ‘जसलाई पनि मुद्दा चलाउँदै हिँड्ने र ठूलो माछो यही हो भन्दै प्रचार गर्ने हो भने यो राज्य व्यवस्था सिद्धिन्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने एकथरी सडकमा उत्रिरहेका छन्, तिनैलाई नै मद्दत गर्ने गरी काम भइरहेको जस्तो लाग्छ।’

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए। २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

कान्तिपुर

Link copied successfully