केयूकेएलका कर्मचारीको आन्दोलन जारी, आइतबारदेखि कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी

जेष्ठ २२, २०८२

अभिषेक अधिकारी

KUKL employees' agitation continues, warning to lock the workroom from Sunday

काठमाडौँ — २२ दिनदेखि आन्दोलित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रहेका ट्रेड युनियन कर्मचारीले बिहीबार पनि केयूकेएल कार्यालय सुन्धारामा धर्ना  दिएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समिति आजको धर्नामा सहभागी थिए ।

जेठ १ देखि आन्दोलन सुरु गरेका कर्मचारीले प्रमुख कार्यकारी अधिकृतको राजीनामा, खानेपानी आपूर्ति, नीतिगत सुधार, समयमै साधारणसभा लगायतको माग राखेका छन् । ४ गते कर्मचारी संघ, लोकतान्त्रिक कर्मचारी संघ, स्वतन्त्र कर्मचारी युनियन, कर्मचारी संघ, कर्मचारी कल्याण परिषद्ले धर्ना दिएका थिए ।

अध्यक्ष धामीले ट्रेड युनियनका कर्मचारीलाई पटकपटक बेवास्ता गरेको बताए । उनले भने , ‘कम्पनीको बेवास्ता गर्ने, कर्मचारीलाई कारबाही गर्छु भन्ने,  ट्रेड युनियन खारेज गर्छु भन्नेजस्ता अभिव्यक्ति दिनु आफैंमा लज्जास्पद हो ।’

वैशाख १५ गते विभिन्न ट्रेड युनियनले केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेललाई राजीनामा दिन १६ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । तर वैशाख ३१ गतेसम्म पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको एकीकृत स्वतन्त्र कर्मचारीका अध्यक्ष गोपाल सिंह धामीले बताए ।

आधिकारिक ट्रेड युनियनले २०८० जेठ २८ मा व्यवस्थापन समक्ष १८ वटा माग राखेका थिए । 

कर्मचारी संघका अध्यक्ष केशव अधिकारीले कामदारको श्रमशोषण भएको आवाज उठाउँदै आएको बताए ‘संस्थागत, नीतिगत र संरचनागत सुधार गर्ने कुरामा अधिकृत चुक्दै गएका छन्,' उनले भने । केयूकेएल कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालले कार्यकारी अधिकृतले १४ महिनादेखि संस्थामा अवरोध मात्र पुर्‍याएको र कुनै काम गर्न नसकेकाले उनको राजीनामा माग गरिएको बताए । 

अधिकृत पौडेलले शुक्रबारसम्म राजीनामा नदिए आइतबारदेखि कार्यकक्षमा तालाबन्दी गर्ने कर्माचारीले घोषणा गरेका छन् । 

केयूकेएलमा २०७८ सालदेखि कम्पनीको साधारणसभा समेत हुन सकेको छैन । वार्षिक साधारणसभा सम्पन्न गराउन, साधारण सेयर निस्कासन, संस्थागत तथा नीतिगत सुधार कार्यान्वयन, मेलम्चीको पानी सर्वसुलभ उपलब्ध गराउनुपर्ने लगायत माग राखेर कर्मचारी २०७८ असोज १४ मा पनि आन्दोलित भएको उपाध्यक्ष ढकालले बताए । - प्रशिक्षार्थी

अभिषेक

Link copied successfully