काठमाडौँ — खाडीका ६ देशले तापक्रम बढेको भन्दै दिउँसोको समयमा घाम सिधा पर्ने स्थानमा काम गर्न प्रतिबन्ध लगाएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइन देशहरूले अत्यधिक गर्मीबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन्।
जसमा देश अनुसार फरक-फरक मिति र समय निर्धारण गरिएको छ। गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुग्न सक्छ र ८० प्रतिशतभन्दा बढी आर्द्रतामा तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्छ ।
बाहिरी क्षेत्रको निर्माण क्षेत्रमा काम गर्ने नेपालीले गर्मी समय निकै कष्टकर हुने बताए । उनीहरूले तोकिएको समयभित्र आयोजनाका काम सक्नुपर्ने भएकोले काममा दबाब पुग्ने बताए ।
‘गर्मीमा काम गर्न कठिन नै हुन्छ । जुलाईदेखि सेप्टेम्बरसम्म दिउसो तीन घण्टा आराम गर्न पाइन्छ । तर, गर्मी समयमा बिहानदेखि नै घाम चर्किन्छ । यो साँझसम्म नै हुन्छ,’ साउदीको नियम प्रोजेक्टमा कार्यरत लमजुङ रमेश वाइवाले कान्तिपुरसँग भने,‘दिनमा एक दुई जना कामदार त ढलिरहेको नै हुन्छ । उनीहरूलाई चिसो ठाउँमा आराम गर्न लगाइन्छ । बिहान र बेलुका पनि ढलेको नै हुन्छ । कहिले काम गर्न आउँदा ढलेको हुन्छ । कहिले काम गरिरहेको वेला ढलेको हुन्छ । पसिनाहरू धेरै गइरहेको हुन्छ ।’
कुवेतले जुन १ देखि अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म बाहिर काम गर्न रोक लगाएको छ । यो समयमा बाहिर खुल्ला रूपमा काम लगाउने रोजगारदातालाई प्रति कामदार एक सय देखि दुई सय दिनार (करिब ९० हजार रुपैयाँ) सम्म जरिवाना लगाउने कुवेत सरकारले जनाएको छ । कुवेतले एउटै रोजगारदाताले तीन वर्षभित्र बारम्बार उल्लङ्घन भएमा दोब्बर सजाय हुने जनाएको छ ।
ओमानले जुन १ देखि अगस्ट ३१ सम्म मध्यान्ह १२ः३० देखि दिउसो ३ः३० सम्म काममा लगाउन नपाइने सूचना जारी गरिएको छ । यो समयभित्र काममा लगाउने रोजगारदातालाई ५ सय रियाल (एक लाख ७८ हजार रुपैयाँ) जरिवाना लगाउने जनाएको छ । महिला कामदार भएमा यसको दोब्बर जरिवाना हुनेछ । यस्तै रोजगारदाताले नियमका उंलघन दोहोर्याएर गरेमा जरिवानाको अतिरिक्त अधिकतम एक महिनाको कैद सजाय हुन सक्ने ओमान सरकारले जनाएको छ ।
त्यस्तै कतारले पनि जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० : ०० बजे देखि दिउसो ३ : ३० बजे सम्म बाहिर काम गर्न रोक लगाएको छ । कतारको श्रम मन्त्रालयले यस निर्णयको प्रावधानको उल्लङ्घनको गरेमा कार्यस्थल आंशिक वा पूर्ण रूपमा बन्द गर्न सकिने जनाएको छ ।
साउदी अरब जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो १२ बजेदेखि ३ बजे सम्म बाहिर काम गर्न रोक लगाएको छ । यो नियम उलङ्घन गर्ने रोजगारदातालाई एक लाख रियालभन्दा बढी जरिवाना नहुने जनाएको छ । उलङ्घनकर्ता रोजगारदाताको कार्यस्थल ३० दिन सम्म बन्द गर्ने जनाएको छ । पटक पटक नियमको उल्लङ्घन गरेमा जरिवाना दोब्बर हुन जनाएको छ ।
युएईले जुन १५ देखि सेप्टेम्बर २५ सम्म मध्यान्ह १२ः३० देखि ३ः बजेसम्म बाहिर काममा लगाएमा प्रति कामदार ५ हजार देखि अधिकतम ५० हजार दिराम जरिवाना लगाउने जनाएको छ । घाममा काम लगाउने कम्पनीको इजाजत पत्र नै निलम्बन गर्ने वा कम्पनीको हैसियत तल (डाउनग्रेड) झारिदिने जनाएको छ ।
बहराइनले पनि १२ देखि ४ बजेसम्म जुलाई १ देखि अगस्ट ३१ सम्म घाममा काम लगाउन नपाइने जनाएको छ । त्यसरी नियमको उलङ्घन गर्ने रोजगारदातालाई तीन महिनाभन्दा जेल र पाँच सय बहराइनी दिनार देखि १ हजार दिनारसम्म जरिवाना लगाउने जनाएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरुले खाडी देशले दिउसो सिधा घाम पर्ने क्षेत्रमा काम गर्न नपाउने नीतिको प्रभावकारी नीतिको कार्यान्वयन नभएको जनाएको छ । अत्यधिक गर्मी र आर्द्रताबाट पर्याप्त स्वास्थ्य र सुरक्षा सुरक्षाको अभाव हुँदा श्रमिकको स्वास्थ्यमा गम्भीर असर परिरहेको हृयुमन राइट्स वाचको प्रतिवेदनले जनाएको छ ।
वाचको अनुसार अत्यधिक गर्मीको जोखिमले श्रमिकको शरीरमा दाग लाग्ने, पेट दुख्ने, गर्मी थकान वा गर्मी स्ट्रोक निम्त्याउने प्रतिवेदनमा उल्लेख छ । ‘खाडी देशहरूले अत्यधिक गर्मीको समयमा काम सीमितताहरू लगाउने मानकको रूपमा वेट बल्ब ग्लोब तापक्रम सूचकाङ्क अपनाउनु र लागू गर्नु पर्छ । कामदारहरूको सुरक्षाको लागि व्यावसायिक ताप सुरक्षा र स्वास्थ्य उपायहरू लागू गर्नु पर्छ’, वाचको प्रतिवेदनमा उल्लेख छ।
युएईमा कार्यरत झापाका भीमबहादुर थापाले काम गर्ने ठाउँ पुरै उजाडिएको बताए । ‘वरिपरि रुखविरुवा छैन । चट्टानै चट्टानको पहाड छ । वातावरण पनि त्यही अनुसारको भयो । एकदमै तातो छ,’ उनले भने,‘बस्दा पनि साइडमा एसी हुँदैन । हावा चल्दैन । छायाँमा नै बस्दा पनि गर्मी त हुन्छ । गर्मीमा काम गर्न एकदमै चुनौती छ । गर्मी नै भनेर बसिराख्न पनि मिल्दैन । सकेसम्म काम त गर्नु नै पर्छ । यहाँ ५० देखि ५५ डिग्री हुन्छ । यस्तो तापक्रमको वीचमा काम गर्नु भनेको जोक होइन । काम नगर्दा पनि उस्तै मान्छे त उभिनै सक्तैन नि । यहाँ बसेर काम गर्नुपर्नेछ । हामीले यो दिनहुँ अनुभव गर्छौ ।’
