काठमाडौँ — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेकाहरुमध्ये अदालतमा उपस्थितहरुको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलास २६ मा बयान सकिएपछि अहिले थुनछेक बहस सुरू भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
‘सरकारी वकिलको कार्यालयले प्रसाईँसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि नै धरौटी माग गरेर छाडिएको छ । ५० जनामध्ये उपस्थितहरुको बयान सकिएर आजदेखि थुनछेक बहस सुरू भएको हो’, श्रेष्ठले भने,‘सरकारी वकिलले थुनछेक गरेपछि प्रतिवादी र वादीहरुले थुनछेक बयान दिनेछन् ।’
उनका अनुसार ५० जनाविरूद्ध मुद्दा दायर भएपनि अदालतमा ३९ जना मात्रै उपस्थित भएका थिए । अहिले उपस्थितहरुको बयान सकेर थुनछेक बहस सुरु भएको छ ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शम्शेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा, पप्पुकुमार दास, प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु खतिवडा, विजय शाही, प्रहरी नायब निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवल्दार विष्णु सापकोटासमेतको जाहेरीले नेपाल सरकार वादी र दुर्गा प्रसाईंसमेत ५० जनालाई प्रतिवादी बनाएर राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठीत अपराधमा मुद्दा दायर भएको थियो । हिंसात्मक प्रदर्शनमा संलग्न भएका उनी बाहेकका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर गर्ने तयारी चलिरहेको छ ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमाण्डर’ प्रसाईंको नेतृत्वमा आहृवान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए । गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् ।
गोली लागेर घाइते भएका ३ जना अझैपनि उपचारको क्रममा छन् । तीघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठको उपचारकै क्रममा छन । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांकमा छ । १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको थियो । त्यसमध्ये ६३ चारपांग्रे र ६ दुईपांग्रे सवारी छन् । सीसीटीभी लगायतका अन्य भौतिक चिजहरुमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ।
