काठमाडौँ — भिजिट भिसा प्रकरण सार्वजनिक भई संसद् अवरोध भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्न चाहेको तर सत्तारुढ गठबन्धनले रोकेको प्रमुख प्रतिपक्षी माओवादीका सांसद माधव सापकोटाले दाबी गरेका छन् । गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् अवरुद्ध कायमै रहने पनि उनले बताए ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले गृहमन्त्री लेखकले राजीनामा दिन चाहेको देखिएको बताए ।
गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सापकोटाको भनाइ थियो । ‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो भने छानबिन गर्नुपर्यो भन्ने हो । यो एउटा सामान्य विषय नभई राष्ट्रिय मुद्दाको रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएकोले निष्पक्ष रुपले छानबिन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ,' उनले भने, 'उहाँहरू छानबिनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्री व्यक्तिगत रुपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ ।’
भिजिट भिसा प्रकरणमा भएका कामकारबाही र क्रियाकलापका बारेमा छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ भन्ने विपक्षी दलहरूको प्रमुख माग रहेको सापकोटाको भनाइ छ । छानबिनलाई प्रभावकारी बनाउन नैतिक रुपमा गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुने उनले बताए ।
