अस्पताल आउन-जानै दुःख

सार्वजनिक सवारी नचल्दा बिरामीले निजी गाडी भाडामा लिएर अस्पताल आउनुपरेको छ । कति बिरामी भाडामा गाडी खोज्दाखोज्दै ढिलो भएर सेवा लिनै छुटेका छन् ।

जेष्ठ २०, २०८२

अनुप पौडेल

Sad to come and go to the hospital

कास्की — इमर्जेन्सी विभागमा बिरामी बोकेका एम्बुलेन्स र निजी गाडीको ओहोदोहोर चलिरहेको छ । कसैको प्रवाह नगरी इमर्जेन्सीअघि प्रतीक्षालयमा एउटा जोडी बसेको छ । उनीहरू घर फर्कने गाडीको पर्खाइमा थिए । मिर्गौला फेल भएकाले पोखरा–३० खुदी नहरचोककी ५८ वर्षीया विष्णुमाया कार्की सातामा दुईपटक अस्पताल धाउनुपर्छ ।

उनलाई लिएर श्रीमान् श्रीप्रसाद श्रेष्ठ हरेक शुक्रबार र मंगलबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आउँछन् । मंगलबार डायलासिस सकिएपछि उनीहरू घर फर्कन बोलाएको गाडी दुई घण्टा पर्खनुपर्‍यो । ‘बिहान छिमेकीको प्राइभेट गाडीमा आएको । साढे १२ बजे आउँछु भन्थे । खोइ कता गएछन्,’ विष्णुमायाले सुनाइन् । छेउमै बसेका श्रीप्रसादले घडीमा नजर लगाए । ‘अन्तै अरूलाई लिएर गएजस्तो छ,’ उनी बोले ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले सवारी चलाउन बन्द गरेको ५ दिन भइसक्यो । सार्वजनिक सवारी नचल्दा अस्पतालमा उपचार, फलोअपमा आउने बिरामीले कष्ट बेहोर्नुपरेको छ । विष्णुमाया र श्रीप्रसाद गत साता शुक्रबार अस्पताल आउँदा गण्डकी प्रदेशमा बन्दको पहिलो दिन थियो । त्यो दिन बस पाएपछि उनीहरू त्यसैमा आए ।

मंगलबार बस नचल्ने थाहा पाएपछि छिमेकीलाई निजी गाडीमा अस्पताल पुर्‍याइदिन अघिल्लो दिन आग्रह गरेका थिए । त्यही गाडीमा मंगलबार बिहान साढे ६ बजे विष्णुमायासहित दुई जना बिरामी र श्रीप्रसाद अस्पताल आइपुगे । चार घण्टामा डायलासिस सकियो । त्यसपछि उनीहरू अस्पतालको इमर्जेन्सी विभागअगाडि प्रतिक्षालयमा कुरिरहे । ‘आउँदा–जाँदा २ हजार लाग्छ,’ विष्णुमायाले भनिन्, ‘दबाई खाने पैसा दिने कि कारलाई बुझाउने ? गाडी चले सस्तो हुन्थ्यो ।’

विष्णुमायाले मिर्गौला फेल भएर डायलसिस गराउन थालेको ४ वर्ष भएको छ । मंगलबार अस्पताल आउँदा श्रीप्रसादले कोरोना भाइरसको समयका दुःख सम्झिए । त्यतिबेला कोही मान्छे नभेटिने, गाडी नपाइने भएर श्रीमतीलाई अस्पताल ल्याउँदा–लैजाँदा भोगेका दुःखले अहिले उनी खासै आत्तिएका छैनन् । ‘अहिले त खोज्यो भने गाडी त पाइन्छ । त्यतिबेलाको दुःखदेखि अहिले केही होइन,’ उनले सुनाए । श्रीमतीलाई लिएर दिउँसो २ बजेतिर उनी घर फर्किए । करिब १३ किलोमिटर र ३० मिनेट टाढा पर्ने घर फर्कन उनीहरूले साढे २ घण्टा अस्पतालमै पर्खनुपर्‍यो ।

प्रायः गरिब र मध्यम वर्गका सर्वसाधारण उपचारलाई आउने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एम्बुलेन्स, गाउँतिर चल्ने जीप, निजी कार, मोटरसाइल, स्कुटरमा बिरामी आइरहेका छन् । कतिले महँगो भाडा तिरेर निजी गाडीको प्रयोग गर्नुपरेको छ, कतिले समयमा अस्पताल पुग्न नपाउँदा उपचार नै नगरी फर्कनुपरेको छ ।

तनहुँ भिमादका गोरे परियार मंगलबार खुट्टाको घाउ ड्रेसिङ गराउन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आएका थिए । तर, उनी आइपुग्दा ड्रेसिङ गर्ने टिकट लिने समय सकिइसकेको थियो । ‘बिहान ७ बजेबाट १२ बजेसम्म टिकट पाइने रहेछ,’ उनले सुनाए, ‘गाडी नपाएर आउँदा ढिला भयो । ड्रेसिङ नै गर्न पाइएन ।’

Sad to come and go to the hospitalतनहुँ भिमादका गोरे परियार ।

घाँस काट्न रूखमा चढ्दा लडेर १० दिनअघि उनको दाहिने खुट्टा भाँचिएको छ । हप्तैपिच्छे ड्रेसिङ गर्नुपर्ने, गाउँ फर्किंदा अस्पताल आउन–जान गाह्रो हुने भएकाले उनी पोखरा–१४ खसीबजारमा आफन्तकहाँ बसेका छन् । मंगलबार बिहान खाना खाएर बुहारीले उनलाई अस्पताल ल्याउन गाडी खोज्न थालिन् । खुट्टा भाँचिएकाले मोटरसाइकल/स्कुटरमा आउन जान असहज हुन्थ्यो ।

 डेढ घण्टासम्म गाडी खोज्दा कुनै उपाय लागेन । त्यसपछि उनी सामान ओसार्ने गाडीमा अस्पताल आए । गाडी नपाएर अस्पताल आउँदा ढिला भएपछि उनी ड्रेसिङ नै नगरी फर्किएका छन् । ‘बल्ल–बल्ल त्यो तरकारी, सामान बोक्ने गाडी चिनेको भएर ल्याइदियो । अब भोलि फेरि आउनुपर्छ । बिमा भएर यहाँ सस्तो पर्छ,’ परियारले भने । घर फर्किने गाडी नपाएपछि उनी राइड सेयरिङमा मोटरसाइकल चढेर फर्किए । सार्वजनिक सवारी नचल्नुको कारण उनले राम्रोसँग बुझेका छैनन् । तर, समस्या समाधान छिटो गरिदिन सरकारलाई उनको आग्रह छ ।

अनुप

Link copied successfully