काठमाडौँ — भिजिट भिसामार्फत मानव तस्करी भएको भन्दै संसद्मा अवरोधबारे प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । मंगलबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । तर प्रतिपक्षी दलहरू माओवादी,रास्वपा, एकीकृत समाजवादी र नेसपा छलफलमा जुटेका हुन् । बैठक संसद् भवनस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा चलिरहेको छ ।
संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच सोमबार भएको छलफल निष्कर्षविहीन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीबाट असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको आरोप विपक्षी दलको छ । उक्त आधारमा गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग राखी विपक्षीहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।
गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर लाखौं असुल्दै आएको भन्दै विपक्षी दलले अनुसन्धानको माग गरेका हुन् ।
