कोशीमै रोकियो मनसुन

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Monsoon stopped in Koshi

काठमाडौँ — पश्चिमी वायु हाबी हुँदा यस वर्षको मनसुन कोशी प्रदेशमै रोकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु अलि बढी सक्रिय भइदिँदा कोशीका अधिकांश भूभागमा विस्तार भइसके पनि मनसुन पश्चिमी भूभागतिर अघि बढ्न सकेको छैन ।

 ‘पश्चिमी वायु अलि बढी नै सक्रिय रहिराखेकाले मनसुन कोशी प्रदेशमा नै सीमित भएको छ, थप दुई/तीन दिनसम्म यस्तै अवस्था रहने अर्थात् मनसुन पूर्वबाट पश्चिमतिर अघि नबढ्ने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । 

सामान्यतः हिन्द महासागरमा उत्पन्न भएर बंगालको खाडीदेखि भारतको केरला हुँदै उत्तरी भेगतिर उकालो लाग्ने वायु प्रणालीबाट बन्ने मनसुन नेपालको पूर्वी भेगबाट प्रवेश गरेर पश्चिमतिर फैलने गर्छ र उतैबाट बाहिरिन्छ । पश्चिमी तथा स्थानीय वायु बढी सक्रिय भइदिँदा मनसुन भित्रिएको ५ दिन भइसक्दा पनि कोशी प्रदेशमा नै सीमित भएको छ । कुल वार्षिक सरदर वर्षामध्ये ८० प्रतिशत पानी पर्ने मनसुन अवधि सामान्यतः करिब ४ महिनाको हुन्छ । 

सरदरभन्दा १५ दिन अघि नै गतबिहीबारदेखि मनसुन भित्रिएको थियो । सामान्यतः भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको १० देखि १३ दिनभित्रमा अर्थात् जुन १३ (जेठ ३०) मा नेपाल भित्रिने भए पनि यस वर्ष छिट्टै प्रवेश गरेको हो । यो २९ वर्षयताकै अर्थात् सन् १९९६ मे ३१ पछिको सबैभन्दा चाँडो भित्रिएको मनसुन हो । केरलामा पनि सरदरभन्दा ८ दिनअगावै गत शनिबार प्रवेश गरेको थियो । मौसम विभागले यो वर्ष अघिल्ला वर्षहरूको तुलनामा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । मनसुनले बाढी, पहिरो, डुबान, कटानलगायत विपद्को जोखिम बढाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षेपण गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully