सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको अभियोग, १ करोड ८ लाख बिगो मागदाबी

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Corruption case against Sodari, the former Chief Minister of Far West

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सोडारीकी पत्नी गीता र छोरा बबी सोडारीलाई पनि गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

गैरकानुनी सम्पत्ति सोडारीले पत्नी र छोराका नाममा राखेकाले सम्पत्ति जफत प्रयोजनका लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायरसँगै सोडारी निलम्बनमा परेका छन् । पूर्वमुख्यमन्त्री सोडारी एकीकृत समाजवादीका नेता तथा २०७९ को प्रदेश सभामा कैलाली–४ (१) बाट निर्वाचित सांसद हुन् । त्यसअघि २०७४ को प्रदेशसभामा एमालेबाट निर्वाचित भएका थिए । एमाले पृष्ठभूमिका सोडारी २०७८ मा पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए ।

माघ २०७४ देखि कात्तिक २०७५ सम्म सुदूरपश्चिम प्रदेशमा सामाजिक विकासमन्त्री, प्रदेशसभामा अर्थ विकास तथा प्राकृतिक समिति सदस्य, १४ जेठ २०७८ देखि मंसिर २०७९ सम्म प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एसका संसदीय दलका नेता रहेका उनी वैशाख २०८१ मा एमाले, माओवादी, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक एमाले र कांग्रेसबीच केन्द्रमा गठबन्धन भएर सत्ता साझेदार गरेसँगै एमाले सरकारबाट बाहिरिएपछि उनले १८ साउनमा पदबाट राजीनामा दिएका थिए । अख्तियारले ७ माघ २०७४ देखि १० फागुन २०७९ को अवधिमा सोडारीका नाममा रहेको चलअचल सम्पत्तिमा अनुसन्धान गरेको थियो ।

यो अवधिमा सोडारी तथा परिवारका नाममा १ करोड ९३ लाख ८९ हजार ६ सय ३७ रुपैयाँ बराबरको सम्पत्ति भेटिएकामा ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ मात्रै वैध आय पुष्टि भएको तर १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँको स्रोत नखुलेको रकमलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

‘जाँच अवधिमा सोडारीसमेतको खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता/आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा ८५ लाख ५१ हजार वैधानिक आयआर्जन गरेको देखिएको छ,’ अभियोगपत्रमा भनिएको छ, ‘सोही अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती सञ्चालक रहेको बबी मसला उद्योगमा भएको लगानी, बिमा प्रिमियम भुक्तानी, प्रदेशसभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, सेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत १ करोड ९३ लाख ८९ हजार बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा जाँच अवधिको कुल आयभन्दा व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा निजले सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।’

कान्तिपुर संवाददाता

Link copied successfully