विपक्षी कराउनुहोला तर संसद् अघि बढाउनुपर्छ : प्रधानमन्त्री

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

The opposition may shout, but the parliament should move forward: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले अवरोध गरे पनि प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्ने बताएका छन् । विपक्षी दलहरूले संसद्मा अवरोध गरेर ज्यादती गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब विपक्षी दलहरूले विरोध गरेमा पनि संसद्का कामकारबाही अगाडि बढाउनुपर्ने बताएका हुन् । अहिले केही नपाएर गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको उनको भनाइ थियो । गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भए पनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने उनले बताए । 

‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन,' ओलीले भने, 'म स्पष्ट भन्न चाहन्छु । तपाईंहरू मानसिक रूपमा तयार भएर बस्नुस् । यसरी संसद् अवरोध हुँदैन । जहिले पनि संसद् अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गर्‍यो, संसद् अवरोध ? संसद् अवरोध त्यसरी हुन सक्दैन । उहाँहरू कराउनु होला, तर संसद् अघि बढाउनुपर्छ । अत्ति नै भयो ।'

विपक्षी दलहरू सडक र सदनमा सरकारविरुद्ध उभिएको बताउँदै ओलीले विरोध गरेका हुन् । 'उहाँहरूलाई सडक पनि चाहिएकै छ, कोही माइतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन्,' ओलीले भने, 'साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माइतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने, हामी साथमा छौँ, आन्दोलन नछोड्नुस् भन्ने । यो तरिका होइन ।’

अध्यक्ष ओलीले विपक्षी दलहरूले संसद् र सडकमा वितण्डा खडा गरेको बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully