काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद् सचिवालय सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा संसद्को अवरोधबारे कुराकानी भइरहेको छ ।
माओवादी संसदीय दल स्रोतका अनुसार मंगलबारदेखि सुरु हुने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल चलिरहेको छ ।
माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै संसद् अवरोध गरिरहेको छ । उक्त प्रकरणको निष्पक्ष छानबिन गर्ने वातावरण बनाउनका लागि गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अडान माओवादीले राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने गृहमन्त्रीबाट लेखकको राजीनामा नहुने र संसद् अवरोधका बीचमा पनि चल्ने बताएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले संसद्को विषयमा छलफल गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका छन् ।
