भिजिट भिसा प्रकरणको छानबिन गर्न गृहमन्त्रीले राजीनामा गर्नुपर्छ : रास्वपा

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

The Home Minister should resign to investigate the visit visa issue: RSP

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयको संलग्नता लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद्मा जवाफ दिनपर्ने रास्वपाले माग गरेको छ । 

रास्वपा संसदीय दलको सोमबार बसेको बैठकले भिजिट भिसामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने र प्रधानमन्त्रीले  संसद्मा जवाफ नदिएसम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नदिने निर्णय गरेको हो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि पार्टीका सांसदले अवरोध गर्ने निर्णय भएको छ । ‘भोलिको संसद् बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रस्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीले पद छोडिदिनुपर्छ । अरुलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ,' झाले भने, 'अभियोग र प्रश्न गृहमन्त्रीमाथि उठेकोले गर्दा गृहमन्त्रीले आएर जवाफ दिने होइन । परिवारमा कुनै समस्या आयो भने अभिभावकले आएर जिम्मेवारी लिन्छ । त्यसैले अहिले सरकारको अभिभावकको रुपमा रहनुभएको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

संसदको कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलसँग समेत सहकार्य गर्ने निर्णय भएको झाले जानकारी दिए ।  

कान्तिपुर

Link copied successfully