राजावादीले आज अन्दोलन नगर्ने, वीरेन्द्र र राजपरिवारको स्मृतिमा दीप प्रज्वलन गर्ने

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Royalists will not protest today, they will light a lamp in memory of Birendra and the royal family

काठमाडौँ — राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित बिहीबारदेखि सुरु गरेको अनिश्चितकालीन प्रदर्शन सोमबार भने नहुने भएको छ ।

आज जेठ १९ गते पूर्वराजा स्व. वीरेन्द्र र ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरूको स्मृतिमा देशभरी शोक भएकाले आन्दोलनको कार्यक्रम स्थगित गरेर दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले सूचना मार्फत जानकारी गराएको छ । 

वि.सं. २०५८ मा आजकै दिन दरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरूको निधन भएको थियो । ‘शोकको दिवसमा संयुक्त जनआन्दोलन समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै दिवंगत आत्माहरूको चिरशान्तिका लागि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिँदैछ,’ संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज साँझ ६ बजे काठमाडौंको कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदाय सबैमा अनुरोध गर्दछौं ।’

विज्ञप्तिमा शोकको समयमा जुलुस, धर्नाजस्ता आन्दोलनका कार्यक्रम नगरी शान्तिपूर्ण श्रद्धाञ्जलीमा सहभागी हुन आह्वान गर्दै जनआन्दोलनसम्बन्धी आगामी कार्यक्रमहरू अर्को सूचनामार्फत सार्वजनिक गरिनेसमेत उल्लेख छ ।

कान्तिपुर

Link copied successfully