जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका आठ जिल्लाका ६४ वटा सडक कालोपत्र योजनाको आइतबार शिलान्यास गरेका छन् । उनले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनबाट ६४ वटै सडकको एकैसाथ डिजिटल शिलान्यास गरेका हुन् ।
मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३२० किलोमिटर कालोपत्र निर्माणका लागि १२ अर्ब ७० करोड बजेट विनियोजन गरेर बहुवर्षीय योजनाअन्तर्गत राखेको छ । सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सांसदले छनोट गरेर दिएका सडकलाई कालोपत्र गर्न लागिएको हो ।
मन्त्रालयका निमित्त सचिव सञ्जयप्रसाद साहले एक निर्वाचन क्षेत्र एक सडक योजनाअन्तर्गत ६४ वटा निर्वाचन क्षेत्रमा कालोपत्र सडक निर्माण गरिने जानकारी दिए । उनका अनुसार मधेश प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमा तीन वर्षमा ३२० किलोमिटर कालोपत्र सडक बनाइसकिनेछ ।
मधेशका पूर्वमुख्यमन्त्री लालबाबु रावत नेतृत्वको सरकारले यसअघि एक निर्वाचन क्षेत्र एक पक्की सडक योजनाअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक–एक कालोपत्र सडक बनाउन सुरु गरेको थियो ।
