प्रचण्डलाई धेरैतिर खोजी गर्दा पनि फेला पर्नुभएन : प्रधानमन्त्री ओली

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Prachanda was not found despite many searches: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग भेटका लागि सम्पर्क नभइरहेको बताएका छन् । संसद्मा जारी अवरोध हटाउनेबारे आफूले खोजी गरिरहेको तर सम्पर्क हुन नसकेको ओलीले बताएका हुन् । 

एमाले संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष दाहाल जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काममा लागेको पनि आरोप लगाए ।

‘भोलि संसद् चलाऔं भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरूको बीचमा अलिकति छलफलहरू गरौँ भनेर, उहाँ सम्पर्क आउन चाहिरहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन,' प्रधानमन्त्रीले भने, 'उहाँहरू कुरा नगर्ने, (संसद्) बन्द गर्ने मुडमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसद्को कारबाही रोकेर, देशको, विकासको गतिविधिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक मंगलबारदेखि चल्ने बताए । विपक्षी दलहरूले अवरोध गरे पनि बैठक सञ्चालन हुने उनको भनाइ थियो । संसद्मा मंगलबारदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसद्मा अवरोध गर्ने निर्णय गरेका छन् ।

कान्तिपुर

Link copied successfully