पोखरामा पर्यटक बसमा समेत अवरोध, देशभर यस्तो छ बन्दको प्रभाव

जेष्ठ १९, २०८२

इकान्तिपुर टिम

In Pokhara, even tourist buses are blocked, this is the effect of the shutdown across the country

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको प्रभाव देशैभर देखिएको छ । विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, धनगढीस्थित कान्तिपुर संवाददाताका अनुसार यातायात बन्दका कारण हजारौं यात्रु सडकमा अलपत्र परेका छन् ।

विराटनगर

सार्वजनिक सवारी बन्दको प्रभाव कोशी प्रदेशमा आंशिक परेको छ । साना तथा ठूला सवारीसाधन निर्बाध चलिरहेको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले बताए । 'सवारीसाधन चलिरहेका छन्, खासै प्रभाव देखिएको छैन । आंशिक प्रभाव मात्रै देखिन्छ ।'

कोशीको प्रादेशिक राजधानी विराटनगरसहित पूर्वका जिल्लामा पनि बन्दको आंशिक प्रभाव मात्रै परेको छ ।

जनकपुर

धनुषाका ट्राफिक इन्स्पेक्टर सूर्यबहादुर शाहीले सार्वजनिक यातायत नचल्दा जनकपुरमा प्रभाव परेको बताए । उनका अनुसार लामो र मध्यम दुवै दुरीका बस लगायतका सार्वजनिक यातायात नचल्दा हजारौं यात्रु अलपत्र परेका छन् । ‘छोटो दुरीमा भने अटो रिक्सा चलेकाले यात्रुहरु रोकिनुपरेको छैन,’ उनले भने ।

चितवन

चितवनमा पनि बन्दको प्रभाव परेको छ । नारायणगढ–भरतपुर क्षेत्रमा निजी र कालो नम्बर प्लेटमा एकाध सवारीसाधन चले पनि सडक पूरै सुनसान छ । यात्रुबाहक बस र अन्य सवारी नचल्दा सडक छेउछाउमा यात्रुहरु अलपत्र परेको देखिन्छ ।

In Pokhara, even tourist buses are blocked, this is the effect of the shutdown across the country

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले पर्यटक बस र अलिअलि स्थानीय रुटका भाडाका साना गाडी मात्रै चलेको बताए । 'पर्यटक बोक्ने बसलाई भने कसैले रोकतोक गरेका छैनन्,' उनले भने, 'अन्य दिनको तुलनामा ५० प्रतिशतभन्दा कम सवारी गुडेका छन् ।’

पोखरा

देशव्यापी यातायात बन्दको सुरुवात गण्डकी प्रदेशबाट भएको थियो । गण्डकी प्रदेशमा जेठ १६ गतेदेखि निरन्तर सार्वजनिक सवारीसाधन बन्द छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका हुन् ।

बन्दको सोझो प्रभाव पर्यटकीय केन्द्र पोखरामा पनि परेको छ । पोखरामा सार्वजनिक यातायात व्यवसायीले पर्यटक बोक्ने हरियो नम्बर प्लेटका बसलाई समेत अवरोध पुर्‍याएपछि प्रहरीले स्कर्टिङ नै गर्नुपरेको छ ।

In Pokhara, even tourist buses are blocked, this is the effect of the shutdown across the country

सार्वजनिक सवारी सडकमा नदेखिए पनि मोटरसाइकल, निजी चारपांग्रे र सरकारी सवारीसाधन भने गुडिरहेका छन् । पोखराका मुख्य चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भैरहवा

भैरहवामा पनि सार्वजनिक सवारी बन्द भएपछि सडक र बजारक्षेत्र सुनसान बनेका छन् । भाडाका बस र मालबाहक सवारी नचले पनि निजी सवारीसाधन भने चलेको ट्राफिक प्रहरी नायब निरीक्षक मोहनकुमार चन्दले बताए ।

In Pokhara, even tourist buses are blocked, this is the effect of the shutdown across the country

धनगढी 

सुदूरपश्चिममा आइतबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । सोमबारदेखि छोटो दुरीमा सञ्चालन हुने यातायात सेवा पनि ठप्प छ । 

सुदूरपश्चिममा पनि यातायात व्यवसायी र मजदुर आन्दोलनमा रहेको नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए ।

In Pokhara, even tourist buses are blocked, this is the effect of the shutdown across the country

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका हुन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ । हरेक दिन हजारौं यात्रुले सास्ती खेपिरहेका छन् । 

सरकार र यातायात व्यवसायीबीच साेमबार बिहान वार्ता भएको थियो । दोस्रो चरणको थप वार्ता पनि आजै बस्दै छ ।

- पर्वत पोर्तेल (विराटनगर), अजित तिवारी (जनकपुर), रमेशकुमार पौडेल (चितवन), दीपेन्द्र बडुवाल (भैरहवा), दीपक परियार (पोखरा) र अर्जुन शाह (धनगढी)

इकान्तिपुर

Link copied successfully