काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओलीले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
'सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो,' प्रमुख सचेतक पाण्डेले भने, 'हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाऔं भन्ने भएको छ ।'
प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेता सहभागी थिए ।
