ओली, देउवा र दाहालबीच भेटवार्ता हुँदै

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Meeting between Oli, Deuba and Dahal

काठमाडौँ — संघीय संसद् लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । 

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरबारमा सोमबार साँझ ४ बजेट भेटवार्ता हुने भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेको अवस्थामा शीर्ष तीन नेताबीच भेटवार्ता हुन लागेको हो । 

प्रधानमन्त्री ओलीले सोमाबार संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सम्पर्क हुन नसकेको बताएका थिए । संसद्मा जारी अवरोध हटाउनेबारे आफूले खोजी गरिरहेको तर सम्पर्क हुन नसकेको उनको भनाइ थियो । 

एमाले संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष दाहाल जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काममा लागेको पनि आरोप लगाए । ‘भोलि संसद् चलाऔं भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरूको बीचमा अलिकति छलफलहरू गरौँ भनेर, उहाँ सम्पर्क आउन चाहिरहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन,' प्रधानमन्त्रीले भने, 'उहाँहरू कुरा नगर्ने, (संसद्) बन्द गर्ने मुडमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसद्को कारबाही रोकेर, देशको, विकासको गतिविधिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक मंगलबारदेखि चल्ने बताए । विपक्षी दलहरूले अवरोध गरे पनि बैठक सञ्चालन हुने उनको भनाइ थियो । संसद्मा मंगलबारदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully