काठमाडौँ — आफूलाई षड्यन्त्रपूर्वक थुनामा पुर्याएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा सोमबार रिट दायर गरेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम वेरीत एवं त्रुटिपूर्ण आदेश बदर गरी प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाऊँ भन्ने चौधरीको माग छ ।
सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई वैशाख १७ गते पक्राउ गरी डिल्लीबजार कारागार पुर्याइएको थियो ।
आफैले मनोमानी ढंगले अदालतबाट कीर्ते पत्र बनाई विष्टले प्रहरीमार्फत चौधरीलाई पक्राउ गराएका थिए ।उनको पत्र किर्ते रहेको खुलेपछि चौधरी पाँच घण्टापछि रिहा भएका थिए । शाखा अधिकृत विष्ट भने हिरासत पुगे । विष्ट जेठ ५ मा एक लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
विष्टले अदालतको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरेको चौधरीले दर्ता गरेको निवेदनमा उल्लेख छ ।मुलुकी अपराध संहिता २०७४ को दफा २७६ समेतको कसुर गरेको भन्दै उनले हदैसम्मको कारबाही माग गरेका छन् ।
चौधरीले आफूलाई सुनियोजित रुपमा पत्रका आधारमा पक्राउ गरी पाँच घण्टासम्म थुनामा राखिएको भन्दै आफूलाई परेको क्षतिको उचित मूल्यांकन गर्न र प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न समेत माग गरेका छन् ।
