‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौँ । जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ ।'-अध्यक्ष दाहाल
काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनकारीहरुले राजतन्त्रका बारेमा तर्क गर्न थालेको बताएका छन् । तदारुकताका साथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा राजावादीहरू छाडा हुन थालेको अध्यक्ष दाहालको भनाइ छ ।
आइतबार योङ कम्युनिस्ट लिगको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताए ।
राजावादीहरूप्रति कटाक्ष गर्दै अध्यक्ष दाहालले आफूहरू कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरू रहेको पनि उनले बताए । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो । माओवादीले चलाएको अभियान आवश्यक परेको बेलामा अर्को क्रान्तिको तयारी भएको उनको जिकिर थियो ।
‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौँ । जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि पनि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी पर्यो भने अर्को क्रान्तिको तयारी हो । अरु केही होइन । जनतासँग नजोडिकन त क्रान्ति हुँदैन । अर्को समाजवादी क्रान्तिको तयारी हो,’ उनले भने । अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताए ।
