काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपकबहादुर सिंह रिहा भएका छन् ।
राजसंस्था पुनस्थापनाको माग गर्दै राजावादी दल तथा समूहले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका दुवैलाई प्रहरीले आइतबार राति रिहा गरेको हो ।
अध्यक्ष थापा नक्साल नारायणचौरबाट पक्राउ परेका थिए । त्यसपछि थापालाई भेट्न गएका राप्रपा सांसद सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट दिउँसो नियन्त्रणमा लिएको थियो ।
रिहापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अफिस धुम्बाराहीमा दुवैसँग भेटघाट गरेका छन् ।
दुवै नेता पक्राउको विरोधमा राप्रपा र राप्रपा नेपालले आपत्ति जनाएका छन् । साथै राजसंस्था पुनस्थापनाका लागि बनाइएको नवराज सुवेदी नेतृत्वको 'जनआन्दोलन समिति' ले त्यसको विरोधमा सोमबार उपत्यका बन्दको घोषणा गरेको छ ।
यी दुवै दलले आकस्मिक बैठक डाकेर थापाको गिरफ्तारीप्रति निन्दा व्यक्त गरेका थिए ।
