कार्यक्रममा पशुपंक्षीको सम्झनामा दियो बाल्ने र पशुपन्छीका तस्बिरमा फूल चढाएर श्रद्धाञ्जलीसमेत दिइयो ।
काठमाडौँ — मानिसद्वारा मारिएका सबै पशुपन्छीको स्मरणमा दुई मिनेटको मौन धारण गर्दै एनिमल सेभ, नेपालले राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) मनाइएको छ ।
कार्यक्रममा पशुपन्छीको सम्झनामा दियो बाल्ने र पशुपंक्षीका तस्बिरमा फूल चढाएर श्रद्धाञ्जलीसमेत दिइएको थियो । एनिमल सेभ नेपाल नेपालभर जनावरहरूको अधिकार प्रवर्द्धन गर्ने पशु अधिकार संस्था हो ।
कार्यक्रममा पशुपंक्षीलाई कष्ट नदिइकन, पशुको माछामासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले विचार राखेका थिए । आयोजकले शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेका प्रगतिबारे पनि सहभागीहरूलाई जानकारी गराएका थिए । कार्यक्रमको सुरुवात बुद्ध पार्क (स्वयम्भू गेट)बाट भगवान पाउ पार्कसम्मको शान्तिपूर्ण र मौन पदयात्राबाट सुरु भएको थियो ।
कार्यक्रममा नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले गीत प्रस्तुत गरेका थिए भने रघु आदित्य लिखित पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक भएको थियो ।
