निरन्तर सडक प्रदर्शनमा राजावादी

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Monarchists in continuous street demonstrations

काठमाडौँ — राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित शनिबार पनि प्रदर्शन गरेका छन् । शनिबारदेखि प्रशासनले नारायणहिटी परिसरलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले बालुवाटार क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरे । 

राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ असारसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका थिए । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीले आइतबार नारायणचौर क्षेत्रमा २ बजेदेखि प्रदर्शन गर्ने राप्रपाका महामन्त्री शरदराज पाठकले जानकारी दिए । 

आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दो रहेको पाठकले दाबी गरे । ‘प्रत्येक दिन मानिसको सहभागिता बढ्दो छ,’ पाठकले भने,‘ काठमाडौं केन्द्रित हाम्रो आन्दोलन थप सशक्त हुँदै छ ।’

नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यो प्रदर्शनको नेतृत्व गरिरहेको छ । संयोजक सुवेदीले जनआन्दोलन भएकाले जनताहरूको उपस्थितिमा निरन्तर चल्ने बताए । ‘हाम्रो माग पूरा नहुँदासम्म अखण्ड रूपमा यो संघर्ष कायम रहन्छ,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully