दलको नेतृत्वमा लामो समयदेखि एउटै अनुहार रहँदा गणतन्त्रमाथि प्रश्न उठेको नागरिक अगुवाको भनाइ
काठमाडौँ — राजनीतिक दलको नेतृत्वमा लामो समयदेखि एउटै अनुहार रहँदा गणतन्त्रमाथि प्रश्न उठ्ने गरेको नागरिक समाजका अगुवाले बताएका छन् । राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा र केही राजावादी समूहले सडक आन्दोलन गरिरहेका बेला गणतन्त्र पक्षधर नागरिक समाजका अगुवाले शनिबार ललितपुरमा आयोजना गरेको ‘गणतन्त्र नै सही बाटो’ शीर्षक संवाद कार्यक्रममा उनीहरूले प्रमुख दलका तीन शीर्ष नेताले राजनीतिबाट बिदाइ लिनुपर्ने बताए ।
कांग्रेस महामन्त्री गगन थापाले प्रमुख दलका शीर्ष नेतृत्वले विश्राम लिनासाथ अहिले चलेको आन्दोलन पानीको फोका जस्तै बिलाएर जाने बताए । ‘दलको नेतृत्वमा लामो समयदेखि एउटै अनुहार रहनु ठूलो समस्या हो । प्रमुख तीन दलका नेतृत्वले बिदा लिए भने राजावादीको आन्दोलन सकिन्छ,’ थापाले भने, ‘त्यसैले राजनीतिक दलभित्र शुद्धता नै आजको मुख्य आवश्यकता हो ।’
उनले समस्या राजमार्गको नभएर गाडी र ड्राइभिङ सिटमा बस्ने चालकको भएको बताए । ‘हो भ्रष्टाचार, कुशासनको समस्या छ । यसले तपाईं हाम्रो सपनाको मृत्यु भयो होला । तर, प्रश्नको मृत्यु भएको छैन, डराउनु पर्दैन,’ थापाले भने, ‘आज गणतन्त्रमाथि जसरी प्रश्नहरू आएका छन् । राजा हुन्छु भन्ने नायक आज चारदिवारभित्र लुकेर बसेका छन् । तीमाथि पनि आज प्रश्न गर्नुपर्छ ।’
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पञ्चायतका भारदार र नेतामा फरकपन नदेखिएको बताए । ‘पार्टीहरूको पञ्चायतीकरण भएको छ र नेताहरूको राजाकरण भयो,’ उनले भने, ‘गणतन्त्र एउटा तन्त्रका रूपमा कुनै खतरा छैन । तर, राजकाज ठीक ढंगले नचल्दा नागरिकले भने सधैं दुःख पाउने स्थिति रहन्छ,’ उनले भने ।
लामो समयदेखि एउटै व्यक्तिको अनुहार र भूमिका नबलिएकै कारण नागरिक तहमा असन्तुष्टि बढेको उनले बताए । ‘अब यस्ता कार्यक्रम राख्दा हामी कहाँ नालायक भयौं त्यसको सम्मेलन हुनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रमा दल नसुध्री हुँदै हुन्न ।’
नेताहरूले जिम्मेवार हुनुभन्दा पनि पूरा गर्न नसक्ने तिलस्मी सपना देखाएर समाजलाई निराशातिर लगेको एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । ‘गणतन्त्रमाथि समाजलाई अति राजनीतीकरण गर्यौं, लोकप्रियवादतिर लाग्यौं । भ्रष्टाचार र कुशासन बढ्यो । राज्यको स्रोतसाधन दोहन गर्ने प्रवृत्ति
बढ्यो,’ उनले भनिन्, ‘अहिले पनि २१ अर्ब रुपैयाँ छुट्याएर सांसदलाई दिन खोजिँदै छ । सांसदलाई दिने रकम भनेको शतप्रतिशत भ्रष्टाचार हुने हो ।’ उनले यस्ता बेथिति अन्त्य नगरेसम्म गणतन्त्रलाई बदनाम बनाउने काम भइरहने बताइन् ।
नागरिक समाजका अगुवा महेश मास्केले राजतन्त्रको विकृति फाल्ने सपना पूरा हुन नसक्दा नै गणतन्त्रमाथि प्रश्न उठ्ने गरेको बताए । ‘सत्ताको कुर्सीका लागि नेताहरूबीच रातारात सहमति हुन्छ तर प्रणाली बसाल्ने र विकृति र बेथिति हटाउने दिशामा सहमति हुन्न,’ उनले भने ।
समारोहमा सुशील प्याकुरेल, योगेश भट्टराई, शिव गाउँले, कनकमणि दीक्षित, टीकाराम भट्टराई, निर्मला शर्मा, अनिल झा, ठाकुर गैरे र पासाङ शेर्पालगायतले गणतन्त्रमाथि संकट अरू कसैका कारण नभई गणतन्त्रवादी प्रमुख दलका शीर्ष नेतृत्वको कार्यशैली र व्यवहारबाटै आइरहेको बताए ।
