काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले लिएको सही राजनीतिको रूपी शरीरमा विज्ञताको मांसपेशी भर्न सकिए मात्रै सुन्दर नेपाल निर्माण सम्भव हुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित बुद्धिजीवी परिषद्को महाधिवेशनमा बोल्दै उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्न सके मात्र देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे । उनले बुद्धिजीवीहरूले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउन सक्ने उल्लेख गरे ।
एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै, एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको उनको भनाइ थियो । राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भइरहेको उनले बताए । नेपालका कुनै पनि पार्टीहरू एमालेको जस्तो उचाइमा पुग्न नसक्ने दाबी पनि उनले गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यति बेला हामीले नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांसपेशी भर्न सके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनका लागि यो कुरा आवश्यक छ । तपाईँहरूले आफ्नो बौद्धिकता प्रयोग गरेर त्यस हिसाबको भूमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कतै न कतै कमजोरी, गल्ती गरेर यस्तो भएको भन्ने सोच नहोस् । एमालेमाथि हमलाको चार वटा कारण छन् : एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरू एमालेको यो उचाइमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन चीन र रुसको जस्तो नभई नेपाली विशेषताको परिवर्तन भएको उल्लेख गरे ।
