पछिल्लो रिपोर्टभन्दा १ हजार २ सय १३ रोपनी बढी
कास्की — सर्वोच्च अदालतको परमादेशपछि भएको अध्ययनले पोखरास्थित फेवातालको क्षेत्रफल हालभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढेको देखाएको छ । फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिअन्तर्गत गठित प्राविधिक उपसमितिले पानीको उच्चतम बहावलाई मुख्य आधार मानेर गरेको अध्ययनले ताल घर र ६५ मिटरभित्र पर्ने क्षेत्रफल बढेको देखाएको हो ।
उक्त उपसमितिको अध्ययनअनुसार ताल घर ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) छ । यो ०८१ असार १२ मा पोखरामा भीषण वर्षा हुँदा पहिचान गरिएको उच्चतम पानीको किनाराको क्षेत्रफल हो । डीजीपीएस प्रविधि र ड्रोन सर्भेमार्फत तालको क्षेत्रफल यकिन गरिएको हो ।
सहजीकरण समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको क्षेत्रफल पछिल्लो प्रतिवेदनभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढी हो । पछिल्लोपटक ०७७ मा सार्वजनिक पुण्य पौडेल आयोगको प्रतिवेदनले फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा भएको निष्कर्ष निकालेको थियो । उक्त क्षेत्रफल ०७८ फागुन १६ मा राजपत्रमा प्रकाशन भएको थियो । सर्वोच्चले तीन वटै सरकारको नाममा जारी गरेको आदेशपछि उक्त प्रतिवेदन खारेजसरह भयो जसले गर्दा फेरि नयाँ अध्ययन गरिएको हो ।
सर्वोच्च अदालतले फेवाताल वारिपारि वर्षायामको पानीको उच्चतम बहाव किनाराबाट ६५ मिटर पर्ने क्षेत्रका संरचना ६ महिनाभित्र भत्काउन ०८० असार ४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा परमादेश गरेको थियो । सर्वोच्चले ६५ मिटरभित्र पर्ने सबै संरचना ६ महिनाभित्र हटाउन, ६५ मिटरको मध्यावर्ती क्षेत्रलाई पूर्णरूपले हरियाली क्षेत्र घोषित गर्न परमादेश गरेको थियो । ०८० असोजमा उक्त परमादेशको पूर्णपाठ सार्वजनिक भएको थियो । यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा पोखरा महानगरपालिका, प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पृतनापति, प्रमुख जिल्ला अधिकारी, ताल संरक्षण प्राधिकरण, गण्डकी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक मुक्तिनाथ बाहिनी, राष्ट्रिय अनुसन्धान कार्यालय गण्डकी सदस्य, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी ०८० मंसिरमा सहजीकरण समिति गठन भयो । उक्त समितिको ०८० माघ ११ मा बसेको बैठकले तालको सीमांकन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमिति गठन गर्यो ।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
उपसमितिले समितिलाई दिएको रिपोर्ट अनुसार ताल घरबाट ६५ मिटरसमेत हिसाब गर्दा फेवातालको कुल क्षेत्रफल ७.६१६ वर्ग किलोमिटर (१४ हजार ९७० रोपनी ५ आना २ दाम) कायम हुने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । ६५ मिटरसमेत समावेश गर्दा कायम हुने क्षेत्रफल यसअघि सरकारले पहिचान गरेकोभन्दा १.८९ वर्ग किलोमिटर (३ हजार ५ सय ३५ रोपनी) बढी हुन्छ ।
सर्वोच्च अदालतले ६५ मिटर क्षेत्रमा बनेका संरचना ६ महिनामै हटाउन परमादेश गरेपनि अहिले पोल गाड्ने काम सुरु हुँदैछ । बर्खाको उच्चतम जल सतह पहिचान गर्न समय लागेको र फैसला कार्यान्वयनको प्रगति सम्बन्धमा आफूहरू सर्वोच्च अदालतसँग निरन्तर सम्पर्कमा रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
सहजीकरण समितिले ताल घर क्षेत्रमा शनिबारदेखि १ हजार ५५ वटा पोल गाड्न सुरु गर्ने उनले बताए । पोल गाडेपछि ताल घरभित्र पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनुपर्ने/नपर्ने, दूषित दर्ता, ०३१ साल अघि/पछिको दर्ता, भौतिक संरचनाको अवस्था यकिन गरिने उनले बताए । यसपछि ६५ मिटरभित्र पर्ने जग्गाको मूल्यांकन हुनेछ ।
‘यो सबै काम सकिएपछि सर्वोच्चले भनेको हरियाली क्षेत्र कायम गर्ने अवस्थामा हामी पुग्छौं । त्यसपछि प्रमाण हेरेर मुआब्जा दिनुपर्ने/नपर्ने चरण सुरु हुन्छ,’ उनले भने । मुआब्जा कति दिने, कसरी दिने भन्ने विषय अध्ययन सकिएपछि संघ सरकारको प्रत्यक्ष संलग्नतामा प्रारम्भ गरिने उनको भनाइ छ
