बर्दिबासमा भेटिए 'ढुंगेयुगकालीन सामग्री'

विज्ञ टोलीले फेला पारेका २५ प्रकारका ढुंगे हतियार र औजारमा छुरा, खुकुरी, खुँडा, घुयत्रो, छिनो, गल, मुङ्ग्रो लगायत छन्

जेष्ठ १७, २०८२

गोपालप्रसाद बराल/रासस

'Stone Age Material' found in Bardibas

महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिका–३ को राइमण्डल तथा पाटु क्षेत्रमा पाषाण युगकालीन महत्वपूर्ण सामग्री पाएको विज्ञहरूले बताएका छन् । विज्ञ टोलीले अन्वेषणका क्रममा रातु नदी पश्चिम, भब्सी नदीपूर्व, बर्दिवास–३ को गौरीडाँडा र पूर्व मोडिएको भब्सी नदीको भागबाट उत्तर एवं राइमण्डलडाँडादेखि दक्षिणको ७ दशमलव ५ वर्ग किलोमिटरको क्षेत्रभित्र अध्ययन अन्वेषण गरेको हो ।

अन्वेषण टोलीका विज्ञ डा मञ्जिल हजारी र पुरातत्व विभागका विज्ञ भाष्कर ज्ञवालीले गत शनिबारदेखि गरेको अध्ययन अन्वेषणको निष्कर्ष आज बर्दिवासका सरोकारवालाबीच आज सार्वजनिक गरिएको छ ।

'मध्यपाषाण युगकालीन हतियार र औजार फेला परेको मुलुककै यो ठूलो क्षेत्र हो,' विज्ञ ज्ञवालीले भने, 'यसले मध्यपाषण युगकालीन इतिहास र मानव सभ्यता बुझ्न, अध्ययन गर्न नयाँ अध्याय थपेको छ ।' यो राष्ट्रकै मुख्य सम्पदास्थलका रुपमा विकास हुन सक्ने पुरातत्व तथा भूगर्भविद्ले निष्कर्ष निकालेका हुन् । अब नेपाल सरकारले पुरातत्व विभागलाई यो क्षेत्र संरक्षित गर्न तत्काल पहलकदमी बढाउन आवश्यक देखिएको ज्ञवालीले बताए ।

विज्ञ टोलीले यहाँ १८ प्रकारका विभिन्न हतियार र औजार तथा सामग्री बनाउन प्रयोग गरिएका ७ प्रकारका औजारसहित २५ प्रकारका ढुंगे औजार फेला पारेको छ । प्राप्त सामग्रीमा त्यतिखेर प्रयोग भएका छुरा, खुकुरी, खुँडा, घुयत्रोसहितका ढुंगे हतियार र छिनो, गल, मुङ्ग्रोजस्ता औजार फेला परेका डा हजारीले बताए । यी औजार र हतियार कामका विविध क्षेत्रअनुसार प्रयोगमा आउने खालका रहेका डा हजारीको भनाइ छ । 'प्राचीन मानव सभ्यताको खोजका लागि यो महत्वपूर्ण उपलब्धि हो,' उनले भने, 'ढुंगेयुगपछि फलामे र अन्य धातुका औजार र हतियार बन्न थाले, तर यी नयाँ औजार र हतियार आकार, प्रकार र उपयोगिताको दृष्टिले ढुंगे औजार र हतियारकै निरन्तरता हुन् ।' सन् १९८० को दशकमा जर्मन अन्वेषक गुड्न कर्विन्सको अध्ययनलाई पछ्याउँदै अन्वेषण गरिँदै जाँदा क्रमशः नयाँनयाँ तथ्य फेला पर्दै जाने डा हजारीको विश्वास छ ।

आजभन्दा  साढे चार दशक पहिले सन् १९८० को दशकमा जर्मन अन्वेषक तथा भूगर्भविद् गुडन कर्विन्सले गरेको अध्ययनले यस ठाउँबारे नयाँ अन्वेषणको ढोका खोलेको विज्ञ टोलीको भनाइ छ । 'कर्विन्सले एक दशकभन्दा बढी समय लगाएर यहाँ गर्नुभएको अन्वेषणले पहिलो चासो बढेको हो,' भूगर्भविद् ज्ञवालीले भने, 'अहिले हामीले पछ्याएको उहाँकै अध्ययन प्रतिवेदन हो ।' 

कर्विन्सले यहाँको अन्वेषणपछि प्रकाशित गरेको ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ कृतिमा पाटु तथा राइमण्डल क्षेत्रमा मध्यपाषाण युगमा औजार र हतियार बनाउने कारखाना रहेको उल्लेख भएको उनले बताए । कर्विन्सको कृति प्रकाशन भए पनि यसबारे थप अध्ययन अन्वेषणमा चासो नबढेपछि करिब दुई वर्षपहिले बर्दिबास उद्योग वाणिज्य संघको अगुवाइमा १० सामाजिक संस्थाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाको खोज गर्न गरेका पदयात्राको प्रतिवेदन संघीय, प्रदेश र स्थानीय सरकारलाई बुझाएपछि यसबारे थप अध्ययन अन्वेषणको कामले पहलकदमी लिएको हो । 

यस क्रममा चालु आर्थिक वर्ष २०८१/८२ मै केन्द्र र प्रदेश सरकारले रातु राइमण्डल पुरातात्विक अध्ययनका लागि बजेटमै सम्बोधन गरेपछि बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको तत्परतामा अहिले पुरातत्व विभागले अन्वेषण गरेको हो । 

विज्ञ टोलीले यसपटक गरेको अध्ययन र अन्वेषणका नतिजा पुरातत्व विभागमा पुर्‍याई राष्ट्रिय संग्रहालयमा राखिने जनाएको छ । यसअघि कर्विन्सले फेला पारेका केही औजार र हतियार पनि विभागले संग्रहालयमा प्रदर्शनीमा राखिसकेको छ ।

विज्ञ टोलीको निष्कर्षपछि बर्दिबासवासीले यो क्षेत्रको अध्ययन अन्वेषणको कामलाई निरन्तरता दिन तीनै तहका सरकार र पुरातत्व विभागको थप पहलकदमी हुनपर्ने औंल्याएका छन् । 'अब यो अन्वेषणको कामले निरन्तरता पाउनुपर्छ, अघिल्ला कामबारे थप योजना बनुन्,' बर्दिबास–३ पाटुकै बासिन्दा अगुवा सामाजिक कार्यकर्ता सुदर्शन घिमिरेले भने, 'यसले हाम्रो बृहत् सम्भावना देखाइरहेको छ ।'

पुरातत्व विभागको टोलीले अन्वेषण निष्कर्ष सार्वजनिक गरेपछि अब यसअघिका काम प्रदेश तथा केन्द्र सरकार र पुरातत्व विभागसँगको आपसी समन्वयमा अघि बढ्ने नगरका प्रमुख प्रहलादकुमार क्षत्रीले बताए ।

गोपालप्रसाद

Link copied successfully