मुढा बुनेर आम्दानी गर्छन् कैदीबन्दी

जेष्ठ १७, २०८२

विप्लव महर्जन

Prisoners earn income by weaving mudha

सल्यान — केही वर्षअघि करणीको अभियोगमा जेल सजाय भोग्दै आएका भेरी नगरपालिका–१२ जाजरकोटका ४५ वर्षीय रमेश भण्डारी खुरुखुरु मुढा बुनिरहेका थिए ।

अन्य साथीहरु बसेर गफमा व्यस्त हुँदा उनको ध्यान भने त्यता हुँदैन । खुरुखुरु बुन्दै जाँदा उनले झण्डै तीन घण्टाको अवधिमा एक मुढा बुनेर तयार पारे । एक दिनमा दुई वटासम्म मुढा तयार पार्ने उनी दैनिक ३ सय कमाउने गर्छन् ।  उनले मुढा बुनेरै महिनामा ६ देखि ८ हजार कमाउँदै आएका छन् ।

यस्तै जबरजस्ती करणीको अभियोगमै जेल सजाय भोग्दै आएका शारदा नगरपालिका–१ का यकराज विक पनि बाँसका सामग्रीबाट मुढा बुनिरहेका थिए । पहिला तयार पारिराखेको सामग्रीबाट उनले एकै दिनमा तीन वटासम्म मुढा बुनेर ४ सय ५० रुपैयाँ कमाए । तीन वर्ष अघिदेखि सजाय भोग्दै आएका उनलाई अहिले जेलभित्रै रोजगारी मिलेको छ ।

यी दुई मात्र नभई जिल्ला कारागार सल्यानमा विभिन्न अभियोगमा सजाय भोग्दै आएका कैदीबन्दी मुढा बुनेर मुद्दा र अन्य खर्च जुटाउँदै आएका छन् । विगतमा घरबाट मुद्दा तथा अन्य खर्चका लागि पैसा मगाउने उनीहरु बुनेका मुढा बजारमा धमाधम बिक्री हुन थालेपछि त्यसबाट कमाई भएको पैसाले मुद्दा तथा अन्य खर्च जुटाउँदै आएका हुन् ।

मासिक ५ देखि ८ हजारसम्म कमाउँदै आएका कैदीबन्दी मुढा बुनेर कमाएको रकमबाट मुद्दा लड्ने मात्र नभई आफूलाई चाहिने आवश्यक सामग्रीहरु किन्ने र कतिपयले त भेट्न आएका आफन्तमार्फत घरमा खर्चसमेत पठाउने गरेका छन् ।

सवारी ज्यान केसमा तीन वर्षदेखि शारदा नगरपालिका–२ का सुदीप खानले बनाएको एक मुढा ५ सय रुपैयाँमा बिक्री गर्दै आएको र त्यसबाट सबै खर्च कटाई १ सय ५० जति बच्ने गरेको बताए । मुढा बुन्न थालेदेखि आत्मनिर्भर भएको र त्यसबाट कमाएको रकमले मुद्दा लड्न सहज भएको उनले जानकारी गराए । 

‘मुढा बुन्नको लागि चाहिने कच्चापदार्थ भनेको समयमा पाइने भए दिनमा तीनवटासम्म मुढा बुन्न सकिन्थ्यो । आवश्यक सामग्रीको लागि चौकीदारको भर पर्नुपर्छ । माग गरेकै दिनमा सामान आउँदैन । फटाफट सामान पाइने भए अझ धेरै कमाई गर्न सकिन्थ्यो,’ उनले भने । मुढा बुन्न थालेपछि समय विताउनसमेत सजिलो भएको र आफूलाई मन परेको खान पाइएको उनको भनाइ छ ।

  

१ सय ४० जना कैदीबन्दी रहेको कारागारमा नियमित १५ जनाले र अन्यले फाटफुट मुढा बुन्दै आएका चौकीदार परशुराम खत्रीले बताए । मुढा मात्र नभई कैदीबन्दीले टोपी, स्विटर, रुमालसमेत बुन्दै आएका छन् । 

‘दुई महिनाअघि सिमखर्चस्थित नेपाली सेनाले १ सय ५० मुढा माग गरेको थियो । कैदीबन्दीले सय वटा बनाएर बुझाइसकेका छन् । अन्य धमाधम बनाइरहेका छन् । यस्तैगरी बाहिरबाट थप माग आएमा आत्मनिर्भर मात्र नभई मुढाबाटै राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भने । 

कैदीबन्दीले बुनेका मुढा भेट्न आएका आफन्त, कारागारमा निरीक्षण गर्न आएका र अन्यलाई बिक्री गरिरहेको उनको भनाइ छ । विगतमा आवश्यक सामग्री किन्न र मुद्दा लड्नका लागि घर परिवारको भर पर्दै आएका कैदीबन्दी मुढा लगायतका सामग्री बनाएर बिक्री गरी आत्मनिर्भर बनेका र त्यसबाट कमाएको रकमबाट आफ्ना आवश्यकता पूर्ति गर्दै आएका जिल्ला कारागार सल्यानका जेलर भिमबहादुर घर्तिले बताए । 

जेलभित्र विभिन्न किसिमका सिप सिकेका कैदीबन्दी घर फर्किएपछि त्यही सिपलाई व्यवसायको रुपमा बदल्नसक्ने उनले जानकारी गराए । 

मुढा बुन्दै सल्यान कारगारमा रहेका कैदीबन्दी । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully