प्रधानमन्त्री ओलीको प्रश्न : देशको कुण्डलीभन्दा ज्ञानेन्द्र शाहको कुण्डली ठूलो हुन्छ ? [भिडियो]

'एकजनाको कुण्डली हेरेर देशको भविष्यको बारेमा बोल्ने ? अर्काको कुण्डली हेर्नुपर्दैन ? व्यवस्थाको कुण्डली के छ ? ढल्दै नढल्ने व्यवस्थाको कुण्डली छ, उहाँले व्यक्तिको कुण्डली हेर्ने ?'

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli's question: Is Gyanendra Shah's horoscope bigger than the country's horoscope? [video]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कुण्डलीभन्दा एउटा व्यक्तिको कुण्डली ठूलो नहुने बताएका छन् । मुलुकले अहिले विकास र समृद्धि खोजिरहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर नेपालका बारेमा भविष्यवाणी नगर्न ज्योतिषीहरूलाई सुझाव दिएका छन् । 

१३औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र परिवर्तन नहुने व्यवस्था भएको कुरा पनि ज्योतिषीहरूले ख्याल राख्नुपर्ने बताए ।

सरकार परिवर्तन र व्यवस्थाका सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका राजावादी जगमान गुरुङले दिएको अभिव्यक्तिको प्रधानमन्त्री ओलीले आलोचना गरेका छन् ।

'यो सरकार परिवर्तनका लागि सिजन चाहिँदैन । यसमा कुनै गुरुङ गुरुजीले ग्रहदशा हेर्नुपर्दैन, सरकार परिवर्तन भनेको पलिटिकल म्याटर हो । मैले अस्ति एक ठाउँमा भनेँ- ज्योतिषीले ज्ञानेन्द्र शाहको कुण्डली हेर्नुभयो रे ! खोइ के-के देख्नुभयो त्यहाँ ? एकजनाको कुण्डली हेरेर देशको भविष्यको बारेमा बोल्ने ? अर्काको कुण्डली हेर्नुपर्दैन ? अर्काको कुण्डली के छ ? व्यवस्थाको कुण्डली के छ ? ढल्दै नढल्ने व्यवस्थाको कुण्डली छ, उहाँले व्यक्तिको कुण्डली हेर्ने ?,' ओलीले भने, 'अहिले स्थिर सरकार रहने कुण्डली छ, त्यो हेर्नु पर्दैन ? नेपालको कुण्डली हेर्नुपर्‍यो नि ! त्यो हेर्ने हो भने स्थिरता, स्थायित्व, विकास । त्यो पो छ त देशको कुण्डलीमा । देशको कुण्डलीभन्दा एउटा व्यक्तिको कुण्डली ठूलो हुन्छ ?' 

कान्तिपुर

Link copied successfully