सही कुराको समर्थन गर्दा कसैले झोले भने पनि परिवर्तनको झन्डा बोक्न नछोड्नू : ओली

'भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीले मलाई साधारण सदस्यबाट हटाएको घोषणा गरे, विचार र विकासको नायक पार्टीलाई धुलो चटाउँछु भने तर एमाले मुलुकको लोकप्रिय पार्टी बन्यो'

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Don't stop carrying the banner of change, even if someone says you stand up for what is right: Oli

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने दाबी गरेका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेविरुद्ध लागेर झन्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए ।

'भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो,' ओलीले भने, 'व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन ।'

प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झन्डा बोक्न नछोड्न आग्रह गरे । 'म एमालेको झोले हुँ, यति भन्दा एमालेका विरोधीलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ,' अध्यक्ष ओलीले भने, 'तपाईँहरु बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।'

कान्तिपुर

Link copied successfully