कांग्रेस नेता कोइरालाले फेरि भने - ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

जेष्ठ १७, २०८२

डम्बरसिं राई

Congress leader Koirala again said - 'Home Minister should resign'

खोटाङ — कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने धारणा राखेका छन् । शनिबार हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँदै जान्छ,’ राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हुनु पर्छ’, उनले भने ।

पत्रकारले राखेको जिज्ञासामा कोइरालाले वर्तमान गठबन्धन सरकार पूर्ण कार्यकालका लागि रहने र त्यसका लागि भरपुर सहयोग हुने बताए । अहिलेको सरकारलाई असफल हुने छुट पनि नभएको कोइरालाले धारणा राखे । 

अहिले हिन्दू राष्ट्र, राजतन्त्रको आभाष नेताहरूले नै दिएको कोइरालाले बताए । ‘राजा आइहाल्यो कि भन्ने आभाष हाम्रै नेतृत्वले दिइराख्नु भएको छ, कांग्रेस, एमाले, माओवादीहरूबाटै आइराखेको छ,’ उनले भने, ‘किन भने सुशासन दिन सकिरहनु भएको छैन, भ्रष्टाचार बढिरहेको छ, सेवा राम्रो दिन सकिरहेको छैन, रोजगारीको अवसरहरू सिर्जना गर्न सकेको छैन, आर्थिक कसरी अघि बढाउन सकिन्छ, यस्ता कुरालाई ध्यान दिन सकेको छैन, साथसाथै कांग्रेस एमालेले गरेको सात बुँदे सहमतिलाई राम्ररी काम गरे भैहाल्यो नि, यसलाई कसले राकेको छ ?’

हलेसीमा आयोजित कार्यकर्तापछि तुवाचुङ जायजुम संरक्षण समितिले आयोजना गरेको तुवाचुङ–डेलाई संबोधन गरी राजधानी फर्किएका छन् । कोइराला हेलिकोप्टरमा हलेसी आएका हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully