कनकाई पुल १४ वर्षदेखि अधुरै

जेष्ठ १६, २०८२

पर्वत पोर्तेल

Kankai Bridge has been incomplete for 14 years

झापा — हुलाकी राजमार्गमा एउटा यस्तो पुल छ- जुन १४ वर्षदेखि बनेको बन्यै छ। तर अहिलेसम्म पूरा हुन सकेको छैन। झापाको गौरीगन्ज गाउँपालिकालाई झापा गाउँपालिकासँग जोड्ने ७ सय २५ मिटर लामो कनकाई नदीमाथिको यो पुल अहिले पनि अधुरै छ।

हुलाकी राजमार्गअन्तर्गतको यो महत्वपूर्ण संरचना राज्यको बेवास्ता र निर्माण व्यवसायीको चरम लापरवाहीको शिकार बनेको हो। यो पुलको कथा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको गृह जिल्लाको हो।

ओलीले चुनावका बेला कनकाई पुल चाँडै बन्ने आश्वासन दिएका थिए। तर, अहिलेसम्म कुनै ठोस उपलब्धि देखिएको छैन । झापाको भद्रपुरदेखि सुरु हुने हुलाकी राजमार्गमा अब कनकाई नदीमाथिको पुल निर्माण मात्र बाँकी छ । तर, यही एक अधुरो संरचनाले झापा–विराटनगरसम्मको करिव ९१ किलो मिटर लामो यात्रा अझै कठिन बनाएको छ । 

हुलाकी राजगर्मा निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले भद्रपुर–रंगेली–विराटनगर खण्डका सबै पुल निर्माण सकिएको र कनकाईका पुल मात्रै बाँकी रहेको जनाए । 

रतुवा नदीको पुल पनि लामो समय पछि भर्खरै निर्माण सकिएको छ । विरिङ पुल पनि बनिसकेको छ । ‘भद्रपुरवाट विराटनगर यात्रा गर्दा अव एउटा समस्या छ कनकाईको पुल’, इन्जिनियर दासले भने,‘यो नवनेसम्म हुलाकीको यात्रा सहज छैन ।’ 

उनका अनुसार हिउँदमा त कनकाई नदी तर्न सकिन्छ। तर, बर्खायाममा नदी तर्न पनि समस्या छ । अहिले बाँसको फड्केबाट सर्वसाधारण आउजाउ गर्दै आएका छन् । फड्के तर्दा प्रति व्यक्ति २०, साइकलसहित ३० र मोटर साइकलसहित ५० तिर्नु पर्ने बाध्यता छ । फड्केबाट चार चक्के सवारीलाई चाँहि तर्न मिल्दैन । 

‘हुलाकी राजमार्गको एउटै प्रमुख समस्या कनकाईको अधुरो पुल हो,’ गौरीगञ्जका स्थानीयवासी आत्मराम राजवंशी भन्छन्, ‘जबसम्म यो पुल पूरा हुँदैन, तबसम्म हुलाकी राजमार्गको यात्रा सहज हुन सक्दैन ।’ कनकाईमा पुल मात्रै बनेको भए यतिबेला भद्रपुरबाट बढीमा अढाई घन्टाको यात्रा तय गर्दा विराटनगर पुग्न सकिने थियो । 

यतिवेला पूर्व–पश्चिम राजमार्ग विस्तारको काम भइरहेको छ । जसका कारण सार्वजनिक सवारीको यात्रा ज्यादै सकसपूर्ण छ । यस्तो बेला कतिपय दुई चक्के सवारी चलाउने सर्वसाधारणहरुले वैकल्पिक सडकको रुपमा हुलाकी सडक प्रयोग गरिरहेका छन्।

Kankai Bridge has been incomplete for 14 years

‘समयमै कनकाईका पुल बनेको भए यतिबेला हुलाकी सडक बैकल्पिक सडकको रुपमा धेरैले प्रयोग गर्ने थिए’, स्थानीय रामलखन यादवले भने,‘तर, अहिले हुलाकी सडक विस्कुन सुकाउने आँगन बनेको छ ।’ २०६८ साल जेठ १४ मा पप्पु–महादेव–खिम्ती जेभी कम्पनीले करिव ३३ करोडमा कनकाई पुल निर्माणको ठेक्का पाएको थियो । २०७२ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो पुल पाँच पटकसम्म म्याद थप भइसकेको छ । अव छैटौ पटक म्याद थपका लागि माग भएको छ । 

२०७५ मा पप्पुले निर्माण साझेदारी छाडेपछि महादेव खिम्ती एक्लैले काम गर्दै आएको छ । अहिलेसम्म १९ मध्ये १० वटा स्तम्भ (स्पान) निर्माण भइसकेको छ । बाँकी ९ वटा स्पान निर्माण गरी पुल सम्पन्न गर्न उसले आगामी २०८४ सम्म समय थप्न माग गरेको इन्जिनियर दासले बताए ।

करिव ६५ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर दासको दावी छ । ‘विगतमा लापर्वाही भएकै थियो तर अव त्यो गल्ती नदोहोर्याउने प्रतिवद्धता निर्माण कम्पनीको छ’, दासले भने,‘८४भित्र पुल वन्यो भने झापावाट विराटनगरको यात्रा छोटिने छ ।’ 

तराईका २० जिल्ला जोड्ने सडक

नेपालको पूर्व–पश्चिम फैलिएको हुलाकी सडक आयोजनाले तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । झापाको भद्रपुरदेखि पश्चिम कञ्चनपुरको दोधारा–चाँदनीसम्म फैलिने यो राजमार्गले तराईका २० वटा जिल्लालाई दुई लेनको सडकमार्गद्वारा जोड्नेछ ।

हुलाकी सडकको इतिहास राणा शासनकालसंग जोडिन्छ । चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरूले प्रयोग गर्ने छोटो बाटोलाई नै यो राजमार्गको प्रारम्भिक स्वरूप मानिएको हो । यो मार्गलाई तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले अघि बढाएकाले यसलाई ‘पद्म रोड’ पनि भन्ने गरिन्छ । ९ सय ७५ किलो मिटर लामो यो राजमार्गले तराई–मधेसका जिल्लाहरूलाई सुलभ पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ ।

भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ मा नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully