काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बलियो सरकारले ल्याएको बजेटले पनि आम नागरिकलाई आशा जगाउन नसकेको प्रतिक्रिया जनाएका छन् । उनले रोजगारीको क्षेत्रमा वृद्धि ल्याउने कृषि उत्पादन र उद्योगको क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताए ।
‘आर्थिक सर्भेक्षणले मुलुकको आर्थिक सर्भेक्षण निकै दयनीय रहेको देखाएको छ, दुइटा संस्था बन्द भएको र १६ वटा घाटामा गएको देखाइएको छ । आर्थिक अवस्था जर्जर छ । देश ऋणमा डुबेको छ, अन्तर्राष्ट्रिय जगतले ग्रे लिष्टमा राखेको छ । भ्रष्ट्राचार चरम छ, यी बजेटका मुल समस्या हुन् तर यसलाई समाधान गर्नेगरी बजेट आउन सकेन ।’
सरकार समर्थक दलका अध्यक्ष यादवले बन्द भएका उद्योग र कृषिको क्षेत्रमा लगानी बढाउनु पर्नेमा सरकारले जताभावी कनिका छरेजस्तो गरेर बजेट विनियोजन गरेको बताए ।‘यसले उत्पादनको क्षेत्र कमजोर हुन्छ, रोजगारीको क्षेत्र बढ्दैन । महँगी बढ्छ । गरिबी जनतामाथि बोझ हुन्छ र विदेशी ऋण अझै बढ्छ,’ यादवले भने,‘अर्कोतर्फ सुधार गर्नुपर्ने स्वास्थ्य र कृषिलाई नजरअन्दाज नै गरेको छ । भूगोलको हिसाबले मधेस धेरै उर्वर ठाउँ हो । त्यहाँ लगानी गर्दा प्रतिफल आउने र अर्थतन्त्र बलियो हुने स्थिति हुन्थ्यो । तर सरकारले पूर्वाग्रही ढंगले लियो । त्यसैले यो बजेटले देशको अर्थतन्त्रलाई सुधार्न सक्दैन । कृषि उद्योगको विकास हुँदैन । शिक्षा र स्वास्थ्यमा कुनै सुधार आउने देखिँदैन ।’
