भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीस्थल बनाइने

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

An international level exhibition hall will be built at Bhrikutimandap

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा भृकुटीमण्डपको विषय उल्लेख गरका हुन् । 

भृकुटीमण्डपमा २ सय १४ रोपनी जग्गा रहेको छ । जसको एक छेउमा त्रिपालले छाएका लहरै देखिने अव्यवस्थित छाप्रा छन् । यसको उत्तरमा प्रदर्शनी मार्ग, पूर्वमा टुकुचा नदी, पश्चिममा भद्रकाली जाने बाटो र दक्षिणमा नेसनल ट्रेडिङ सीमा रहेको भृकुटीमण्डप २०२२ सालमा औद्योगिक प्रदर्शनी स्थलका रूपमा स्थापना गरिएको हो ।

सरकारले २०३७ सालमा तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (अहिले समाज कल्याण परिषद्) लाई भोगचलन र संरक्षणको हक हस्तान्तरण गर्‍यो । अहिले पनि भृकुटीमण्डपको भोगचलन परिषद्ले नै गर्दै आएको छ ।

भृकुटीमण्डपभित्र फनपार्क ६० रोपनी, ल्यामापुच २५ रोपनी, प्रदर्शनी हल ३५ हजार स्वायर फिट, बगैंचा २३ रोपनी र खसी बजारले २१ आना ओगटेका छन् । ३० रोपनीको खुला बजारमा १ हजार ३ सय ५ कपडा, जुत्ता, भाँडावर्तन, कस्मेटिक तथा चिया खाजाका पसल छन् । नेपाल पर्यटन बोर्डलाई ९ रोपनी जग्गा ९९ वर्षका लागि लिजमा दिइएको छ ।

कान्तिपुर

Link copied successfully