तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि चौबिसै घण्टा हेलिकोप्टर तयारी अवस्थामा
काठमाडौँ — मनसुन बाहिरिने छेक गतवर्ष असोज १० देखि १३ सम्म अत्यधिक वर्षासँगै आएको बाढी, पहिरो र डुबानले बागमती, कोशी र मधेश प्रदेशका ठाउँठाउँमा जनजीवन तहसनहस पार्यो ।
बाढीले सडक र खैरेनीघाटको पक्की पुल तथा बेलघारीको झोलुङ्गे पुलमा क्षति पुगेपछि सुनकोशी नदी किनारैमा माझी बस्ती भएको रामेछापको खाँडादेवी गाउँपालिका–१ कोपथे गाउँको सिन्धुलीसँगको सम्बन्ध विच्छेद भयो । करिब सय घरजतिको माझी बस्ती भएको कोपथे यस्तो गाउँ हो, जसले सिन्धुलीसित सीमावर्ती क्षेत्रमा पर्ने भएकाले दैनिक उपभोग्य सामग्रीको किनमेलदेखि शिक्षा, स्वास्थ्यका सेवाका लागि सुनकोशीपारि पुग्नैपर्छ ।
घटना गतवर्षकै हो, बाढीपहिरो आएको दुई सातासम्म पनि सुनकोशी नदी राम्ररी सङ्लिन पाएकै थिएन । कोपथे गाउँकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि सिन्धुलीको सुनकोशी गाउँपालिका–३ रातमाटास्थित स्वास्थ्य चौकी लैजानुपर्ने भयो । सडक, पुल बगेकाले हिँडेर समेत रातमाटा जान नसकिने भएपछि स्थानीय युवा जोखिमपुर्ण विकल्प अपनाउन बाध्य भए । गाडीका दुईवटा ट्युब ल्याए । त्यसमाथि दुई वटा बाँस र प्लाईउडको टुक्रा ल्याएर बाँधे । प्लाईमाथि सुत्केरी व्यथाले च्यापेकी महिला र उनलाई समाउन अर्की महिलालाई बसाए । साथै अर्को जना महिला पनि ट्युबमा अटिइन् । अरु चार युवाले ट्युबको चार कुनामा बसेर ‘पेडल’ खियाउँदै असोज १२ गते बाढीपहिरो आएर सङ्लिनै नपाएको सुनकोशी तारेर स्वास्थ्यचौकी पुर्याए ।
‘बाटो बिग्रेको भनेर सुत्केरी व्यथाले च्यापेको महिलालाई घरैमा राखे गर्भको बच्चासहित आमाको स्वास्थ्य झन् जोखिममा पर्थ्यो, त्यही भएर वैकल्पिक व्यवस्था गरेर तार्न बाध्य भएका थियौं,’ उक्त भिडियो फेसबुकमा सेयर गरेका गाडी चालक स्थानीय मानव माझीले कान्तिपुरसित सुनाए ।
०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको चौथो दिन सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा हेलम्बु गाउँपालिका–१ तिम्बुका ११ परिवार स्थानीयले बाढी आएको थाहा पाएलगत्तै भागेर ज्यान जोगाए पनि चार दिन बित्दासम्म कतैबाट राहत सामग्री र सुरक्षित बास नपाएको हुदा सहयोगको याचना गरिरहेका थिए । आफूलाई तिम्बुवासी भनेर चिनाउँदै बोल्न सुरु गरेकी आशा गुरुङले विस्थापित भएको चार दिन बित्दा पनि कसैबाट सहयोग नपाएका कारण स्थानीय मिलेर भिडियो बनाउन बाध्य भएको बताएकी थिइन् ।
यसैगरी, बच्चा जन्माउने महिनामा प्रवेश गरेका गर्भवतीहरू बिचल्लीमा परेको बताउँदै आफूहरूको यो आवाज सरकार र सरोकारवालासामु पुर्याइदिन पनि उनले अनुरोध गरेकी थिइन् । ‘तीन–चार जना गर्भवती छन्, उनीहरू एकदम बिचल्लीमा आत्तिएर बसेका छन्, यो भिडियो चाँडैभन्दा चााडै सरकार र संघसंस्थामाझ पुर्याइदिन विनम्र अनुरोध गर्दछौं,’ भिडियोमा उनले भनेकी थिइन् ।
गर्भवती तथा सुत्केरी महिला बर्सेनि मनसुनजन्य विपद्को उच्च जोखिममा रहने गरेको यी प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजानिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्षको मनसुनबाट ३६ हजार प्रजनन उमेर समूह (१५ देखि ४९ वर्ष) का महिला प्रभावित हुने आकलन गरेको छ । यसैगरी ४८ हजार जना अपांगता भएका, १ लाख ६४ हजार जना बालबालिका र ४ लाख १५ हजार जना ज्येष्ठ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
सरकारले हरेक वर्ष मनसुनजन्य विपद् प्रतिकार्य कार्ययोजना बनाउँदा महिला घरमूली भएका घरपरिवार, एकल महिला, गर्भवती, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिले उद्धार तथा राहतमा प्राथमिकता पाउने प्रावधान राखिएको हुन्छ । तर, कोपथे र तिम्बुका महिलाले बेहोरेको त्रासदीका घटनाले सरकारी कार्ययोजना कागजमै सीमित रहेको देखाउँछ ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले अघिल्ला वर्षको कमजोरी दोहोरिन नदिन गर्भवती तथा सुत्केरीको तत्काल हवाई उद्धारका लागि संयन्त्र बनाइएको बताए । ‘अघिल्ला वर्षहरुमा जस्तो उद्धार, राहत तथा प्राथमिकतामा कमजोरी नदोहोर्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार र नेपाली सेनामार्फत तत्काल उद्धार गर्ने संयन्त्र बनाएका छौं,’ उनले भने, ‘यसपालि यो कुरालाई कार्यादेशभित्रै राखेका छौं, सेनाको हेलिकोप्टर ठाउँ–ठाउँमा तयारीमा अवस्थामा राखिएकाले प्राधिकरणमा कार्यकारी प्रमुखको अध्यक्षताको ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ ले तत्कालै उद्धारमा अधिकतम परिचालन गर्नेछ ।’
लुम्बनी बढी प्रभावित हुने
सामान्यत: देशभर वार्षिक रुपमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुन्छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पुर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित गरिएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले बताएका छन् ।
प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन् ।
यसैगरी, बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदुरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभािवत हुने अनुमान गरिएको छ ।
यसैगरी ५ सयवटा जोखिम न्यूनीकरण पूवर्तयारी तथा प्रतिकार्यका लागि विपद् विशिष्टीकृत इकाइ तोकिएका छन् । कार्ययोजनाका अनुसार खोज तथा उद्धारका लागि १० हजार ८५ जना प्रहरी जनशक्ति स्ट्यान्डबाई रहनेछन् । त्यस्तै २७७ वटा डोजर, एक्स्काभेटर लगायतका हेभी इक्युपमेन्ट र १२ सेट बेलिब्रिज तयारी अवस्थामा राखिएको छ ।
बाढी, पहिरोलगायत मनसुनजन्य विपद् सचेतना सामग्री प्रचारप्रसार गर्ने, सम्भावित संक्रामक रोगका बारेमा पूर्वसूचना सम्प्रेषण गर्ने, टेलिफोन टावरमा बाढी पहिरोका कारण क्षति पुगेमा मोबाइल टावरको व्यवस्था गर्ने पूर्वतयारी गरिएको समेत प्राधिकरणले जनाएको छ ।
चौबिसै घण्टा मौसम कक्ष
त्यस्तै, जल तथा मौसम विज्ञान विभागले चौबिसै घण्टा मौसम कक्ष सञ्चालन गर्ने भएको छ । मौसमको विशेष अवस्थामा आकस्मिक मौसम बुलेटिन, तीनदिने तथा भारी, धेरै भारी र अति भारी वर्षाको विशेष स्थितिमा पाँच दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्ने, बाढी सतर्कताका लागि मुख्य नदी जलाधारका सर्वसाधारणलाई मोबाइलमा पूर्वचेतावनी सन्देश पठाउने, बाढी पूर्वसूचना प्रदान गर्ने उद्देश्यले मनसुनभर सर्वसाधारणका लागि ११५५ नम्बरको टोल फ्रि सेवा सञ्चालन गर्ने भएको छ ।
मनसुनका बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका लागि सुर्खेतमा नेपाली सेनाको एउटा पश्चिम एयर बेस हेलिकोप्टर, बागमती, गण्डकी, मधेश र कोशीका लागि काठमाडौंमा अर्को मध्य एयर बेस हेलिकप्टर ‘स्ट्यान्डबाई’ रहनेछन् ।
तत्काल उद्धारका लागि खबर आएको १५ मिनेटभित्रमा परिचालन गर्न सक्नेगरी काठमाडौंको गौचर ब्यारेकमा हवाई साधन तयारी अवस्थामा राखिएको छ । बाढी तथा डुबानमा उद्धारमा खटिनका लागि तालिम प्राप्त २७६ र पौडिन जान्ने २ हजार ८२३ जना प्रहरी जनशक्ति रहेको प्राधिकरणले कार्ययोजनामा उल्लेख गरेको छ । प्राधिकरणले समुदायस्तरमा विपद्सम्बन्धी पूर्वसूचना दिन असार मसान्तभित्र हरेक वडाबाट २५ जनाका दरले देशैभरि १ लाख ६८ हजार ५७५ जना विपद् सूचक परिचालन गर्ने भएको छ । समुदायस्तरमा विपद् प्रतिकार्यका लागि ३ हजार ६७५ स्वयंसेवक खटाउने योजनासमेत छ ।
