काठमाडौँ — ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् ।
बिहान ११:०० बजेका लागि बोलाइएको बैठक झन्डै दुई घण्टा ढिला गरी सुरु भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै विपक्षी दलले पुनः विरोध जनाएका थिए ।
बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भएको थियो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाएका थिए । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही आपसमा छलफलमा संलग्न भएका थिए ।
केही सांसद चमेनागृहमा चिया पिउन गएका थिए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागेका थिए । प्रतिनिधिसभाको बैठक अवरोध भएपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद राष्ट्रिय सभाको बैठक अवलोकन गर्न गएका थिए ।
राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे सुरु भएको थियो । तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित रूपमा चलेको थियो । फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखिएको थियो ।
प्रतिनिधिसभा सदस्यहरू राष्ट्रिय सभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए । उनीहरूले राष्ट्रिय सभाको दर्शकदीर्घामा बसेर त्यहाँको काम–कारबाहीको प्रत्यक्ष अवलोकन गरेका थिए ।
राष्ट्रिय सभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकी दर्शकदीर्घामा उपस्थित थिए ।
यो दृश्य देखेपछि राससले सांसद नेम्वाङसँग राष्ट्रिय सभामा जानुको कारण सोधेको थियो । उनले संक्षिप्त जवाफ दिँदै 'माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौँ' भनेका थिए । उनले माथिल्लो सदनको नियमित कामकारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिएका थिए ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा रहेका छन् । राष्ट्रिय सभा स्थायी सदन हो भने प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुन्छ । संविधानअनुसार दुवै सदन एक–अर्काका परिपूरक मानिन्छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत गरिन्छ ।
यस्तै, सांसद सराज अहमद फारूकीले पनि नियमित काम–कारबाहीको जानकारी लिनकै लागि राष्ट्रिय सभामा गएको बताएका थिए । 'हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम–कारबाहीको जानकारी लिने इच्छा राखेका थियौँ, त्यो आज पूरा भयो,' उनले भने । उनले फुर्सदको समय सदुपयोग गरेर दर्शकदीर्घामा बसेर राष्ट्रिय सभाको बैठकबारे जानकारी लिएको बताए । उनले राष्ट्रिय सभाको बैठक र सञ्चालन तरिका प्रतिनिधिसभाको जस्तै भए पनि रमाइलो लागेको बताए ।
प्रतिनिधिसभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामी धारणा राख्दै थिए । सांसद फारूकीले आफूहरू केही समय राष्ट्रिय सभा बैठकको प्रत्यक्ष जानकारी लिएर बाहिरिएको बताए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको कामकारबाही नियमित र उस्तै हुने गर्छ । यद्यपि बहस–छलफलको हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ ।
