गृहमन्त्रीलाई भत्ता पनि खोस्न भने : राप्रपा सांसद दीपक सिंह
काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो सुरक्षामा रहेका दुई जना पीएसओ प्रहरी प्रधान कार्यालयले फिर्ता लगेको बताएका छन् ।
कान्तिपुरसँगको कुराकानीमा उनले आफूसँग रहेका दुई पीएसओ दुई दिनका लागि भन्दै गएको बताए । उनले भने, ‘ किन गए भन्ने बाँकी विषय थाहा भएन ।’
राप्रपाका सासंद दीपक सिंहले आफूहरू गणतन्त्रविरोधी आन्दोलनमा लागेको हुनाले पीएसओ खोसिएको बताए । उनले भने, ‘मैले पीएसओ खोसिएको विषयमा गृहमन्त्रीसँग कुरा गरे । उहाँले व्यवस्था विरोधी आन्दोलनमा लागेकाले पीएसओ हटाइएको जवाफ दिनुभयो ।’ उनले सासंदका रूपमा पाउने सेवा सुविधा पनि खोस्न गृहमन्त्रीलाई भनेको बताए ।
