काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले भिजिट भिसाका नाममा भइरहेको भ्रष्टाचारको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । कांग्रेसको धरान उपमहानगर समिति सम्मेलनमा महामन्त्री थापाले राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैरकानुनी र अमानवीय रहेको बताएका हुन् ।
महामन्त्री थापाले यो घटनालाई कुकृत्यको संज्ञा दिँदै गहन अनुसन्धान हुनुपर्ने बताएका छन् । 'यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारबाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन,' महामन्त्री थापाले भने ।
विपक्षी दलहरूले यस प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने माग राख्दै आएका बेला महामन्त्री थापाले अनुसन्धान त्यहाँसम्म पुगे मात्रै पदमा बस्न नहुने बताएका छन् ।
'भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ,' उनले भने ।
