काठमाडौँ — प्रतिनिधिसभाको बैठक बोलाएको समय १ घण्टा ३० मिनेट पुग्दा पनि सुरु हुन नसकेपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक साढे १२ बज्दा पनि सुरु हुने सम्भावना नदेखिएपछि दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । बैठकमा संसद्को बैठक अगाडि बढाउनेबारे छलफल भइरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायतको सहभागीता रहेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने माग गरिरहेको छ । सत्तापक्षले भने गठबन्धनविरुद्ध आक्रमणका रुपमा गृहमन्त्रीको राजीनामालाई लिएको छ । बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्न नपर्ने निष्कर्ष निकालेको थियो ।
