ओलीलाई दाहालको जवाफ– ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ, प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुस्’

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Dahal's reply to Oli - 'The Home Minister should resign, the Prime Minister should answer in Parliament'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालबीच संसद्को अवरोधका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहाललाई फोन गरेर संसद्को अवरोध खुलाउनेबारे कुराकानी गरेका हुन् ।

गृहमन्त्री रमेश लेखक र माओवादी सांसद माधव सापकोटाले ओली र दाहालबीच फोनमा संसद्को अवरोधबारे छलफल भएको जानकारी दिए । ओलीले संसद्को अवरोध हटाएर नियमित कामकारबाही गरिदिन आग्रह गरेका थिए । 

विपक्षी दलहरूको बैठक संसद् भवनमा बसिरहेको बेला प्रधानमन्त्री ओलीको फोन अध्यक्ष दाहाललाई आएको सापकोटाले बताए । 'प्रधानमन्त्रीले सदनको अवरोध हटाएर सदनलाई अगाडि बढाउन माग गर्नुभएको थियो । अध्यक्षले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र सदनमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ भन्नुभयो,' सापकोटाले भने ।

दाहालले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गराउनका लागि गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने कुरा प्रधानमन्त्री ओलीसँगको कुराकानीका क्रममा बताएका थिए ।

'भिजिट भिसा प्रकरणलाई निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्छ भन्ने कुरा नै राख्नुभएको छ । विपक्षी दलहरूको बैठकले पनि सोही निर्णय गरेका छन्,' सापकोटाले जानकारी दिए । गृहमन्त्री लेखकले भने संसद्मा बोल्नका लागि समय माग गरेको बताए ।

कान्तिपुर

Link copied successfully