राजावादीको प्रदर्शनमा घाइते डिल्लीप्रसाद अस्पतालमै, कुरुवासमेत अभाव

जेष्ठ १३, २०८२

विवेक पोख्रेल

Dilli Prasad, who was injured in Rajawadi's demonstration, is in hospital, Kurua is also missing

काठमाडौँ — राजावादीको प्रदर्शनमा चैत १५ मा गोली लागेर घाइते भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आन्द्रा बाहिर राखेर उपचार गराइरहेका लुइँटेलको पेटमा दिशा थैली झुन्ड्याइएको छ। तर, उपचारका क्रममा सहयोग गर्ने कुरुवासमेत कोही छैन। न आफन्त, न सरकार, न त राजावादी नै उनलाई सघाउन पुगेका छन् ।

उनी आफैँ औषधि किन्न दौडिन्छन्, परीक्षण गरेको बिल तिर्न अस्पताल चक्कर लगाउँछन्। खानाको जोहो पनि आफैँ गर्छन्। अस्पतालको छैटौँ तल्लाको वार्डमा पछिल्लो हप्ताको दिनचर्या उनको यस्तै छ।

यसअघि उनका भाइ केदारले हेरचाह गर्दै आएका थिए, तर घरायसी काम र पैसाको जोहो गर्न उनी गाउँ फर्किएपछि डिल्लीप्रसाद अस्पतालमा एक्लै परेका हुन्।

‘सरकारले उपचार खर्च दिन्छु भनेको थियो। तर अस्पतालमा नपाइने औषधि बाहिर किन्नुपर्छ। बस्ने–खाने गरेर त्यसका लागि ३ लाखभन्दा बढी खर्च भइसकेको छ,’ लुइँटेलले भने, ‘सरकारबाट उपचार खर्च एक रुपैयाँ पनि 'रिफन्ड' नभएपछि बाँकी खर्चको व्यवस्था गर्न भाइलाई गाउँ पठाएको हुँ। गाउँ गएको समयमा भाइले वर्षभरि खाने खेतीपातीको पनि जोहो मिलाएर फर्कन्छ ।’

उनका बुवा अशक्त छन्। आमाको क्यान्सरले निधन भइसकेको छ ।अहिले परिवारको जिम्मेवारी डिल्लीप्रसादको काँधमा छ । उनका दुई भाइ गाउँकै स्कुलमा पढ्छन्। पारिवारिक कारणले बहिनी कलेज जान छाडेकी छन्। ब्याज तिर्ने गरी ऋण खोजेर यसअघि चलाएको पैसाको हिसाब–किताब गरेर थप पैसाको व्यवस्था र धान रोप्ने तयारी गरेर भाइ केदार फर्कने तयारीमा छन्। लुइँटेलका अनुसार अस्पतालभित्र सबै औषधि र परीक्षण नहुँदा बाहिरबाट पनि सेवा लिनुपर्ने बाध्यता छ। जुन सेवा लिन पैसा अनिवार्य लाग्छ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लोखर्क लुइँटेलको घर हो। काठमाडौँमा बसको टिकट काउन्टरमा काम गर्दै लोकसेवाको तयारी गरिरहेका उनी रमाइलो हेर्न गएका बेला गोली लागेर घाइते भएका थिए। १५ चैतका दिन राजावादीको प्रदर्शनका कारण बस नचलेर फुर्सदिला बनेपछि उनी साथीहरूसँगै प्रदर्शन हेर्न गएका थिए। त्यही बेला पेटमा गोली लागेर घाइते भएका हुन्। अस्पतालबाट निस्केपछि पहिलेझैँ काम गर्न सकिएला कि नसकिएला भन्ने चिन्ता उनलाई छ। सरकारले रोजगारीमा सहयोग गरिदियोस् भन्ने अपेक्षा उनी राख्छन्।

१५ चैतको घटनामा सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईँसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र तयार गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ।

११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको छ। अहिले जिल्ला अदालतमा बयान सुरु भएको छ। हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

चैत १५ गते नै नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाब–किताबको काम सकेर फर्किँदै गर्दा तिघ्रामा प्रहरीको गोली लागेकी उदयपुरकी रेबिका खत्रीको पनि उपचार भइरहेको छ।

सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखिएपछि वार्डमा सारिएकी रेबिका अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचाररत छिन्। उपचार खर्च सरकारले निःशुल्क गर्ने भने पनि बाहिर किन्नुपर्ने औषधिसँगै बिरामी र कुरुवाको बसाइ नै कष्टकर बनेको छ।

प्रदर्शनकै क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रदर्शनकारी प्रहरीको गोली लागेर घाइते भएका थिए।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully