गोरखा — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चैत १५ गते तीनकुनेमा आतंक मच्चाउनेलाई पछाडि राखेर अर्को पात्रलाई सिंगारपटार गरिएको बताएका छन् ।
मंगलबार भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले वंशवाद र निरंकुशतातिर फर्कने कल्पना पनि गर्न नसकिने बताए । ‘चैत १५ गते उत्पात गर्ने मण्डलेहरुको गुण्डागर्दी प्रवृत्ति फेरि देखियो,’ उनले भने,‘ती पात्रहरुलाई पछाडि राखेर अर्को पात्र सिंगारपटार गरेर पर्सिबाट आन्दोलन भन्ने छ, फेरि सफल हुनेवाला छैन, सजक चाहिँ हुनुपर्ने छ ।’
शासनसत्ताबाट मिल्काइएका प्रतिक्रियावादीहरुले गणतन्त्र, संघीयता, समावेशितालाई बदनाम गर्ने अनेक कुचेष्टा गरेको उनले बताए । ‘प्रतिगामी, प्रतिक्रियावादी र समान्तहरु केही समयसम्म फेरि फर्कन सकिन्छ कि भनेर कुचेष्टा गरिराख्छन्, नेपालमा मात्र होइन संसारभर त्यसो गर्छन तर जनता सचेत हुँदा एकताबद्ध हुँदा यो असंभव प्रयास मात्र हुन्छ,’ उनले भने,‘इतिहासको चक्का फर्किएर पछाडि जाँदैन ।’
७० वर्ष लडेर ल्याएको गणतन्त्रको विकल्प अझै राम्रो गणतन्त्र मात्र भएको दाहालले बताए । ‘गणतन्त्रलाई सुदृढ गर्ने कुरा हो, वंशवादतिर फर्कने, निरंकुशतातिर फर्कने कुरा कल्पना पनि गर्न सकिन्न र गर्न हुँदैन,’ उनले भने ।
वंशवादीको निरंकुशतावादी २४० वर्षको इतिहासको कुकर्मको लामो श्रृंखला रहेको दाहालले बताए । ‘कोत पर्वको हत्या, भण्डारखाल पर्व कसले गर्यो,’ उनले थपे,‘टाढा जानुपर्दैन नारायणहिटीमा भयानक हत्याकाण्ड गर्ने अरुभन्दा उदार राजाको वंश सिद्धाउने को हुन्, त्यति त जनताले बुझेका कुरा छ नि, तिनीहरुको भुलभुलैयामा पर्छन् भन्ने विल्कुल लाग्दैन ।’
सरकारका नराम्रा कामले निरंकुशतावादीलाई मलजल भएको दाहालको भनाइ छ ।
