कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा

जेष्ठ १३, २०८२

सुरज कुँवर

Kamirita Sherpa on Mount Everest for the 31st time

काठमाडौँ — नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो ।

गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार ! ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’ कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । उनी भोली बिहानसम्म ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरसम्म फर्किने छन् । त्यहाँबाट हेलिकोप्टर उडानबाट काठमाडौं फर्किने तालिका छ ।

दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

उनीपछि सर्वाधिक सगरमाथा आरोहण गर्ने अर्का आरोही खुम्बु पाङबोचेका पासाङ दावा (पादावा) शेर्पा छन् । उनले २७ पटकसम्म सगरमाथा आरोहण गरेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully