युवा संघ महाधिवेशन : थेबे र पुरीबीच प्यानल बनाएर प्रतिस्पर्धा

जेष्ठ १२, २०८२

अनुप पौडेल

Yuva Sangh Convention: Competition between Thebe and Puri by forming a panel

कास्की — पोखरामा जारी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको १० औँ महाधिवेशनबाट अध्यक्षसहिको कार्यसमिति चयनका लागि क्षितिज थेबे र सुमन पुरीले प्यानल तयार पारेका छन्। उनीहरूले पदाधिकारी र लेखा आयोग अध्यक्ष लड्ने प्यानल तयार पारेका हुन्।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु, मधेसी सचिवमा मोबिन अख्तर आलम उम्मेदवार छन्। अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा उम्मेदवार छन्।

पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार छन्। अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका छन्।

थेबेलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको साथ रहेको छ। पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले समर्थन गरेको छ।

उपाध्यक्ष खुल्लामा राकेश राई, महासचिवमा राजन थापा, सचिव खुल्लामा वकिलबहादुर बम, केशव रोक्का, मिनाकुमारी राई (रञ्जु), सचिव मधेसीमा विकास झा, सचिव महिलामा रोजिना पाण्डे (उमा) दुवै प्यानल बाहिर रहेर उम्मेदवारी दर्ता गरेका छन्।

अहिले उम्मेदवारी फिर्ताको समय जारी रहेको छ। दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका निर्वाचन कमिटीको रहेको छ। अन्तिम नामावली प्रकाशनपछि विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम प्रविष्ट गर्ने, त्यसलाई परीक्षण गरेर सफल भएपछि मतदान सुरु हुने जनाइएको छ। महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि सहभागी छन्।

अनुप पौडेल

Link copied successfully