'विश्व शान्ति र समृद्धिमा एसियाको योगदान के हुने भनेर सोच्नुपर्छ'

जेष्ठ १२, २०८२

लक्ष्मी लम्साल

'We should think about what will be Asia's contribution to world peace and prosperity'

बेइजिङ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिमा एसियाको भूमिका के रहने भन्नेबारे सोच्नुपर्ने बताएकी छन् । सोमबार बिहान चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागद्वारा आयोजित 'मानवजातिको साझा भविष्य, समुदायको निर्माणमा दलहरूको कारबाही' सम्बन्धित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘चीनका छिमेकी मुलुकहरू सबैले विश्व शान्ति र विश्व समृद्धिका लागि एसियाको भूमिका कस्तो रहने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’

सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको  सम्बन्धका बारेमा चर्चा गरिन् । दुबै देशबीचको इतिहासदेखि वर्तमानसम्म भइरहेका विकास प्रवृत्ति र नेपाल-चीनको आपसी सहयोग सहकार्यका बारेमा पनि उनले बताइन् । एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता जनाउँदै भण्डारीले अन्तर्दलीय सहकार्य, नेपाल-चीनका विविध आयामबारे चर्चा गरेको एक नेपाली सहभागीले सुनाए ।

‘बिल्डिङ अ कम्युनिटी विथ अ शेयर्ड फ्युचर विथ नेभरिङ कन्ट्रिजः पोलिटिकल पार्टीज इन एक्सन’ विषयक संवाद उद्घाटन समारोहमा चीनका छिमेकी मुलुकका बेइजिङस्थित अधिकांश राजदूतहरू सहभागी  थिए । संवादमा सहभागी चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीका अनुसार आईडी सीपीसीका प्रमुख लिउ च्यानछाओले उद्घाटन मन्तव्य दिएपछि इन्डोनेसिया, नेपाललगायत देशका राजनीतिक पार्टीका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्माओलीले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अनुरुप नेपाल अगाडि बढिरहेको सुनाइन् । उनले नेपालको राजनीतिक रुपान्तरणमा स्व. मदन भण्डारीको योगदानको व्याख्या गरिन् । ‘खासगरी नेकपा एमालेलाई मार्गदर्शन गर्ने विषयमा स्व. भण्डारीको नीति महत्वपूर्ण रहेको छ’, उनले भनिन् ।   

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) ले चीनको कम्युनिस्ट पार्टी र छिमेकी देशका राजनीतिक दलहरूबीच आइतबा र सोमबार बेइजिङमा कार्यक्रम आयोजना गरेको हो ।

'We should think about what will be Asia's contribution to world peace and prosperity'

चीनको क्वाङ्चौबाट आइतबार मध्याह्न बेइजिङ उत्रिएकी भण्डारी साँझ सीपीसी विदेश विभागले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी थिइन् । 

आईडीसीपीसी प्रवक्ता हु चाओमिङले दिएको जानकारी अनुसार संवादमा उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुसका पार्टी नेताहरू, थिंक ट्याङ्क विद्वान, मिडियाकर्मीहरू लगायत २० देशका २ सयभन्दा बढी सहभागी थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै भ्रमण दलमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद् (सीसीआईपीटी)को भ्रमण गरेपछि मंगलबार साँझ कान्सु प्रान्तका लागि प्रस्थान गर्ने कार्यक्रम छ । कान्सु प्रान्तको कार्यक्रमपछि सछ्वानको छङ्तुमा आयोजित कार्यक्रममा सहभागी भएर टोली नेपाल फर्किने योजना छ ।

पूर्वराष्ट्रपतिको टोलीमा एमालेका सचिव एवं परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठ, आपूर्तिमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष महेन्द्र विष्ट लगायत सहभागी छन् ।

लक्ष्मी

Link copied successfully