काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढिरहेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न उतारचढावका बीच आजको दिनसम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भए पनि सार एउटै रहेको स्पष्ट गरे।
अध्यक्ष दाहालले गम्भीर रूपमा समाजवादी क्रान्तिको तयारीमा आफूहरू लागिरहेको उल्लेख गरे । उनले २०६४ सालको निर्वाचनमा प्राप्त अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति पुगेको बताए । उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको उनको धारणा छ।
संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अघि बढिरहेको अध्यक्ष दाहालले दाबी गरे । समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, '२०६४ को निर्वाचनमा प्राप्त अभिमत जोगाउन सकेनौँ, पार्टी विभाजित भयो। त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताका लागि ठूलो क्षति भयो। हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भए। संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भयो। हामी सबै त्यो प्रक्रियामा अघि बढिरहेका छौँ। आगामी दिनमा समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने विश्वास छ।'
अध्यक्ष दाहालले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुआत भएको पनि बताएका छन्।
