हुम्लाको तिल गाउँमा बाढी पहिरोको कारण ‘थर्मोकार्स्ट’

स्थलगत अध्ययनमा पुगेको प्राविधिक टोलीद्धारा ५ हजार ३ सय ५० मिटरमा तीनवटा हिमताल रहेको पुष्टि

जेष्ठ १२, २०८२

विद्या राई

'Thermokarst' causes flood landslides in Til village of Humla

काठमाडौँ — स्थलगत अध्ययनका लागि काठमाडौंबाट गएको प्राविधिक टोलीले ‘थर्मोकार्स्ट’ का कारण हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल गाउँमा गत जेठ १ गते बाढी र सुख्खा पहिरो गएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी भन्छन्, ‘अध्ययन टोली घटनास्थल नै पुगेर फर्किरहेको छ, अहिलेसम्मको अपडेट अनुसार ‘थर्मोकार्स्ट’ भन्ने आएको छ, बरु टोलीले यसअघि दुई वटा हिमताल देखिएको ५ हजार ३ सय ५० मिटरमा तीनवटा हिमताल फेला पारेको छ ।’

एकीकृत हिमालय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का अनुसार उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमिनमुनि पुर्ण रुपमा जमेर बसेको ढुंगा, माटो, गेग्रानलाई ‘पर्माफ्रोस्ट’ भनिन्छ । तापक्रम बृद्धिलगायतका कारणले ‘पर्माफ्रोष्ट’ पग्लेर बग्ने प्रक्रियालाई थर्मोकार्स्ट भनिन्छ । 

प्राविधिक टोलीलाई स्थलगत अध्ययनका लागि पठाउनुअघि प्राधिकरण र इसिमोडको संयुक्त प्रारम्भिक विश्लेषणमा ‘थर्मोकार्स्ट’ कै कारण तिल गाउँमा बाढीपहिरो खसेको अनुमान लगाएको थियो । इसिमोडमा बरिष्ठ जलवायु परिवर्तन बिशेषज्ञ अरुणभक्त श्रेष्ठले भने, ‘घटना भएको ठाउँमा सुरुमा स्थानीयहरु पुगेकोले उहाँहरुले लिएको फोटो भिडियो र स्याटेलाइट तस्बिरहरु विश्लेषण गर्दा पर्माफ्रोर्स्ट (जमिनमुनिको पग्लिने) क्षयिकरण भएर बाढी पहिरो गएको प्रारिम्भक अनुमान गरिएको थियो ।’ 

'Thermokarst' causes flood landslides in Til village of Humla

स्थलगत अध्ययनमा पनि ‘थर्मोकार्स्ट’ नै मुख्य कारण पाइएको प्राधिकरणका प्रवक्ता केसीले बताएका छन् । ‘जमिनमुनिको भाग पग्लिएपछि कमजोर भागबाट कटान भएर गाउँतिर बाढी पहिरो गएको रहेछ, कटान भएनेर भिरालो रहेछ, तालको सतहको हिउँ धस्सिएको छ,’ उनले भने, ‘यो दुर्लभ घटना हो, पहिले अफगानिस्तानतिर भएको रहेछ, विस्तृत विवरण टोली काठमाडौं फर्किसकेपछि आउँछ ।’ 

नाम्खा जाने अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । 

'Thermokarst' causes flood landslides in Til village of Humla

इसिमोडमा बरिष्ठ जलवायु परिवर्तन बिशेषज्ञ श्रेष्ठ पनि तिल गाउँको बाढी पहिलो नेपालको सन्दर्भमा नौलो भएको बताउँछन् । ‘नयाँ खालको यस्तो घटना नेपालमा धेरै भएको छैन, तापक्रम वृद्धिले गर्दा नै तिल गाउँमाथिको घटनाले अब ‘पर्माफ्रोस्ट’ क्षयीकरणको समस्या नेपालमा नि देखिन थालेको अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसमा वैज्ञानिक अध्ययनहरु जरुरी हुन्छ । तिल गाउँको घटना हिमताल विस्फोटसंग सम्बन्धित छैन ।’ 

पानी नपरेरै आएको बाढी र पहिरोले तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । तिल्चुङ खोलाका ५ वटा काठे पुल बगेका थिए । दुई घर र एक करोड २० लाख बराबरको १५ किलोवाट क्षमताको एक जलविद्युत् गृहमा क्षति पुगेको थियो । करिब ४ सय रोपनीमा सिँचाइ गरिँदै आएको कुलो बगाएको छ । गाउँको खानेपानी लाइनमा क्षति गरेको थियो ।

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

Link copied successfully