काठमाडौँ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर नेता शेखर कोइराला र अरु दुई सासंदले सार्वजनिक रुपमा राजीनामा दिनुपर्ने भनेर उठाएको मुद्दाले सोमबारको कांग्रेस पदाधिकारी बैठक नै तरंगित हुन पुग्यो ।
बैठकको सुरुमै गृहमन्त्री लेखकले कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोडेर राजीनामा दिनुपर्छ भनी पार्टीका नेताहरूले गरेको सार्वजनिक टिप्पणीप्रति दुःखेसो मात्रै पोखेनन्, पार्टीले आग्रह गरे जुनसुकै बखत राजीनामा दिन तयार रहेको प्रतिक्रिया दिए।
भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताको कुनै आधार देखिएमा पदबाट मात्रै नभई राजनीतिको सार्वजनिक जीवनबाटै अलग हुने उद्घोष दोहोर्याउँदै बैठकमा लेखकले राखेको धारणा उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘यो प्रकरणमा पार्टीलाई कहीँ कतै अप्ठ्यारो, असहयोग पर्छ भने म राजीनामा दिन तयार छु । संसद्को दबाबबाट राजीनामा दिन नलगाइयोस् । त्यो कुरा आजै भनियोस् । पार्टीलाई अप्ठ्यारो पारेर म बसिरहन उचित हुन्न । अहिल्यै नै निर्देशन दिइयोस्, पालना गर्न तयार छु ।’
बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरू सबैको निशानामा भने नेता शेखर कोइराला परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा कर्मचारीमाथि गरिरहेको अनुसन्धानको विषयमा गृहमन्त्रीलाई जोडेर सार्वजनिक रूपमा राजीनामा माग्नु अराजनीतिक भन्दै नेताहरूले आक्रोश पोखेका थिए।
उनीहरूले कोइरालालाई समेत सामेल गराएर यस विषयमा छलफल गर्न केन्द्रीय समिति वा पदाधिकारी बैठक डाक्न सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षले समेत राजीनामा नमागेका बेला आफ्नै पार्टीका नेताहरूले राजीनामाको विषय उठाएर वातावरणलाई धमिल्याउने काम गराएको निष्कर्ष पूर्व पदाधिकारीहरूको थियो । राजधानी बाहिर रहेकाले कोइराला सोमबारको बैठकमा सहभागी थिएनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत समेत रहेका गृहका सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरे लगतै कांग्रेस नेता कोइरालाले गृहमन्त्रीले राजीनामा दिन उपयुक्त हुने धारणा व्यक्त गरेका थिए ।
‘राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि, गृहमन्त्रीको संलग्नता नहोला, तर इश्यु आइसकेपछि आफू स्वच्छ छु भनेर पनि देखाउन पनि राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ’ शनिबार गृह नगर विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले भनेका थिए ।
कोइरालाको अभिव्यक्तिपछि कांग्रेसका सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईँले पनि सार्वजनिक रुपमानै गृहमन्त्रीको राजीनामा मागेका थिए । बैठकपछि पूर्व महामन्त्री शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा माग्नेहरूमाथि पार्टीले स्पष्टीकरण सोध्नुपर्ने प्रतिक्रिया दिएका छन् । आफ्नै दाइ शेखरका अतिरिक्त अन्य दुई जना सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने उनको भनाई थियो ।
‘उहाँले (गृहमन्त्री)आज जुन कुरा राख्नुभयो, त्यसले त्यसले म छर्लङ्ग भए । उहाँको कुनै किसिमको गल्ती छैन । एक इन्च पनि गलत गर्नुभएको छैन । जति पनि आरोप लाको छ, बेबिनियादी आरोप हो’ कोइरालाको भनाइ थियो, ‘उहाँहरूलाई बोलाउनुहोस्, सोध्नुहोस् र स्पष्टीकरण माग्नुहोस् भन्ने कुराहरू भए । मलाई लाग्छ यो गर्नुपर्छ । अरू केही उपाय छैन ।’
बैठकमा उपसभापति पूर्णबहादुर खडकाले अनुसन्धानमा तानिएका सहसचिव भट्टराईमाथि अख्तियारले बयान समेत नलिएको, फरेन्सिक रिपोट समेत नआएको र गृहमन्त्री जोडिने कुनै तर्क र आधार समेत नभएको अवस्थामा सिनियर नेताहरूले राजीनामा दिनुपर्छ भनेर बोल्नु पार्टी अनुशासनको गम्भीर उल्लङ्घन भएको धारणा राखेका थिए ।
‘पार्टीभित्र अनुशासनहीनता उत्कर्षमा पुगेको छ । जथाभावी बोल्ने कुरालाई नरोक्ने हो भने पार्टी चलाउन कठिनाइ हुन्छ । सभापतिजीले बोलाएर कुरा गर्नुहोस्’ खडकाको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने,‘यस विषयलाई पदाधिकारी बैठकमा मात्रै नभएर केन्द्रीय समितिमा पनि कुरा उठाउनुपर्छ । त्यसै चुपचाप लागेर बस्न हुन्न ।’
खडकाको धारणामा देउवाले सार्वजनिक रूपमा बोलेका कुराहरूलाई धेरै पटक बोलाएर सोध्ने गरेको जबाफ दिएका थिए । ‘बोलाउँदा मिठा कुरा बोल्ने र बाहिर गएर चर्को कुरा बोल्ने गर्छन्’ देउवाको भनाई थियो । बैठकमा महामन्त्री गगन थापा, पूर्व उपसभापति बिमलेन्द्रनिधिलगायतले तथ्य र आधारविहीन रूपमा राजीनामाको विषय उठाउनु गलत रहेको बताएका थिए ।
‘भोली अनुसन्धानमा जे कुरा ठहर हुन्छ, त्यसै बमोजिम हुनेछ, तर, अहिले आधार र तथ्य नै नभई कन जुन ढंगले चर्काउने काम भएको छ, यो विल्कुलै राम्रो होइन’ थापाको भनाई थियो ।
बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत श्याम घिमिरेका अनुसार गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपहरूको विषयमा मंगलबार ससद बैठकमा जबाफ दिने कार्यक्रम तय भएको छ । घिमिरेले पुलिस र कर्मचारी गरेर डेढ लाखको नेतृत्व लिएको गृह मन्त्रालयमा कति बेला कुन कर्मचारीले बदमासी गर्छ त्यसको जिम्मेवार मन्त्रीले लिने हो भने कुनै पनि मन्त्री बाँकी नरहने बताए ।
‘नेपालका सबै मन्त्रालयमा भ्रष्ट्राचार छन् । अन्तर्राष्ट्रिय संस्थाले निकालेका प्रतिवेदनलेपनि त्यसलाई पुष्टि गर्छ, सबै मन्त्रालयका कुनै न कुनै कर्मचारीहरू अख्तियारको अनुसन्धानको दायराभित्र छन्, कसैको सचुना बाहिर आयो, कसैको आएन । फरक त्यति हो’ उनले भने,‘एउटा कर्मचारीले कुनै बदमासी, गल्ती र भ्रष्ट्राचार जन्य कार्य गरेमा मन्त्रीले राजीनामा गर्दै जाने हो भने भोली आउने मन्त्रीले पनि राजीनामा दिनुपर्छ । सबै मन्त्रालयका मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ भन्ने कुरा सबै नेताहरूले उठाउनु भएको छ ।’
लेखकले सहसचिव भट्टराईलाई अध्यागमनबाट हतार हतार गृहमा सरुवा गरिएकोबारे उठेका प्रश्नको समेत त्यस अवसरमा जवाफ दिएका थिए । उनले आफू गएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी रहेको र उनी आफैँले पटक–पटक सरुवा मागेर गएपछि भट्टराईलाई त्यहाँ लगिएको जवाफ दिएका थिए ।
‘पन्थीजीले दुई तीनचोटि सरुवा गरिदिनुपर्यो भनेर भन्नुभयो । काविल अफिसर हुनुहुन्थ्यो । बस्नुहोस् भनेको हो । तर, सरुवा गरिदिनुहोस् भनेको भन्यै गर्नुभयो । मन नलागी–नलागी त्यहीँ नेतृत्व लिएर बस्नुहोस् भनेर जबरजस्ती भन्नु उचित ठानिनँ । को पठाउने भनेर खाली व्यक्ति खोज्दै जाँदा तीर्थराज भेटिएका हुन्।
'पन्तलाई भट्टराईको ठाउँमा सरुवा गरेर उनलाई अध्यागमनमा लगिएको हो’ लेखको भनाई उद्धृत गर्दै प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘यसलाई अतिरञ्जना गरेर मेरा विरुद्ध सुनियोजित रूपमा षडयन्त्र गरियो । प्रचलित कानुन र अभ्यासलेपनि जो कसुरदार हो, ऊ स्यंम जिम्मेवार हुने । उसैले सजाय भोग्ने हो । कानुनी मान्यता त्यही हो । तर, नबुझी मेरा विरुद्धमा राजनीतिक प्रतिशोध लिने काम भइरहेको छ भन्ने भनाइ गृहमन्त्रीको थियो ।’
